बाँकेमा बम विष्फोट,द्वन्द्वकालीन माइन हुनसक्ने

काठमाडौँ । बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त सडकको किनारमा विष्फोट भएको विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान गरिएको छ ।

आइतबार बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको बताइएको छ । विस्फोटबाट मानवीय क्षति भएको छैन ।

यद्यपि सडक किनारमा ठूलो खाल्डो परेको छ जसका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन भएका थिए । पछि सडक डिभिजन कार्यालयको टोली त्यो खाल्डो पुरेको र अहिले दुईतर्फी नै सडक सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १२ : २४ बजे