दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दुई बालिकामाथि सामुहिक बलात्कार

बझाङ । बझाङको मष्टा गाउँपालिकामा दुई बालिकामाथि सामुहिक बलात्कार भएको छ । मष्टा गाउँपालिकामा दुई बालिकालाई तीन जनाले बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।

आरोपित तीनै जनाको उमेर नखुलेको र उनीहरू घटनास्थलबाटै फरार रहेको प्रहरीले जनाएको छ । पीडित १२ र १३ वर्षका बालिका अहिले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा छन् । गत भदौ १४ गते साँझ ६ बजेतिर पसल हिँडेका बालिकालाई आरोपितले स्थानीय सरस्वती मावि हातामा बोलाएको र नजिकैको जंगलमा लगेर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् ।

‘साँझ ६ बजे गाउँ नजिकैको पसलमा कापी किन्न भान्जीसँग पसल गएकी हो । त्यहीँनेर स्कुलमा खेलिरहेका तीन जनाले मेरी छोरी र भान्जीलाई बोलाएर चाउचाउ बिस्कुट खुवाएछन् । त्यहाँबाट आसीकारन्या जंगलमा लगेर बलात्कार गरेर भागेछन्,’ एक पीडित बालिकाकी आमाले भनिन्, ‘मध्यरातमा छोरी र भान्जी भेटायौं । त्यतिबेला दुवै जना होसमा थिएनन् ।’ पीडितका आफन्तलाई पीडकका आफन्तले धम्क्याइरहेको पनि उनले बताएकी छन् । ‘उनीहरूका आफन्तले हामीलाई त्यत्तिकै आरोप लगाउने ? खुकुरी हान्दिछौं भनेर उल्टै थर्काइरहेका छन् ।’

जिल्ला प्रहरी कार्यालय बझाङले भने आरोपितहरुको खोजी भइरहेको बताइरहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेश चौधरीले भने, ‘स्वास्थ्य जाँच गर्दा बालिकामाथि करणी गरेको प्रमाणित भइसकेको छ । मुद्दा दर्ता गरेर अभियुक्तको खोजी भइरहेको छ ।’ उनले अभियुक्तहरूको उमेर प्रमाणित गर्नका लागि वडालाई पत्र लेखिएको र अदालतबाट पक्राउ पुर्जी लिएर खोजी कार्य भइरहेको बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ४ : ५५ बजे