काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाको अनुहारमा देशको सुन्दर भविष्य देख्ने गरेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित ‘बा सँग विद्यार्थी’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले बालबालिकाहरूको अनुहारमा देश बनाउन सक्ने आत्मविश्वास देखेको बताउनुभयो । ‘तपाईँहरूको अनुहारमा आशावादीता देख्छु र तपाईँहरूको आत्मविश्वासयुक्त चेहराले मलाई हाम्रा पुर्खाले मेहनतेले बनाएको, मेहनतेले बचाएको यो देश सुन्दर बन्ने छ भन्ने विश्वास हुन्छ’, उहाँले भन्नुभयो ।
आफूले आफूलाई अब्बल राजनीतिज्ञ नठानेको ओलीले बताउनुभयो । ‘अब्बल राजनीतिज्ञ अब तपाईँहरूबाट जन्मिनु पर्छ, नयाँ पिँढीबाट जन्मनु पर्छ’, उहाँले भन्नुभयो ।
आफ्ना केही असफलता भएका ओलीले बताउनुभयो । आफूले नेपाल विरुद्धका केही षडयन्त्रलाई पराजित गर्न सफल भई नसकेको ओलीले बताउनुभयो । त्यसलाई नयाँ पुस्ताका नेताले पराजित गर्न सक्नु पर्ने ओलीले बताउनुभयो । नयाँ पुस्ताले भूगोलको रक्षा र राष्ट्रिय स्वाभिमानको झण्डा उठाउने अपेक्षा आफूले गरेको उहाँले बताउनुभयो ।
आफूले राष्ट्रको अहित हुने कुनै पनि काम नगर्ने ओलीले बताउनुभयो । राष्ट्रको सम्पत्तिलाई छल, कपट गरेर आफूले दुरुपयोग नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अब्बल राजनीतिज्ञ त भन्न सक्दिन आफूलाई, यत्तिचाहिँ हो म इमानका साथ काम गर्छु’, उहाँले भन्नुभयो ।
राष्ट्रको सम्पत्ति कुनै पनि हिसाबले, छल कपटले आफूले आफ्नो नबनाउने उहाँले बताउनुभयो । राष्ट्रको लागि इमानदार भएर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘म जे गर्छु इमानदारीताका साथ गर्छु’, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार २ : ४५ बजे
प्रतिक्रिया