पहिचानको ढुङ्गा लागेर रुवान्डामा नरसंहार भयो । यसले हुतु र तुत्सी समुदायका बीच सशस्त्र हिंसात्मक युद्ध गरायो, १०० दिनमा झन्डै १० लाख मानिस मरायो । पहिचानको ढुङ्गाले कसैलाई पनि बाँकी राख्दो रहेनछ । यसको आँखा हुँदो रहेनछ । त्यसैले कोसी नामकरण विरुद्ध आवेश, उत्तेजनायुक्त उग्र र अराजक आन्दोलनमा पहिचानवादी ढुङ्गो लागेर ठाउँको ठाउँ पहिचानी युवक मारिए । यसबाट विषवृक्ष रापेर कोही पनि जीवित रहन सक्दैन भन्ने स्पष्ट हुन्छ । पहिचानवादी ढुङ्गा हान्न उक्साउने पार्टी, नेता,पत्रकार र मिडिया कर्मी पनि हुँदा रहेछन् भन्ने रुवान्डाका घटनावलीले स्पष्ट पार्छन् । यस खालका जातीय दङ्गा सुरु गर्न गराउन पश्चिमा देश पहिलेदेखि आर्थिक भौतिक लगानी सहित लागेको प्रसिद्ध निबन्धकार जीवा लामिछानेले बताएका छन् । यी कुराहरू उनले देश देशावर निबन्ध सङ्ग्रहमा सविस्तार बताएका छन् । गोरे बहादुर खपाङ्गी समेत मनभरि पहिचानवादी ढुङ्गा बोकेर हिँडेकै हुन् । यसलाई सकेसम्म भजाएर उनले नितान्त निजी आर्थिक भौतिक दुनो सोझ्याएकै हुन् ।
संविधान सभाका अध्यक्ष स्व.सुवास नेम्बाङले युवा सङ्घ,नेपाल कोसी प्रदेश सम्मेलनको उद्घाटनका अवसरमा पहिचानको ढुङ्गो शब्दावलीको प्रयोग गर्नु भएको थियो । सारमा यो उहाँको व्यङ्ग्यात्मक अभिव्यक्तिको बान्की थियो । हुन पनि पाइनदार अभिव्यक्तिमा उहाँ माहिर हुनुहुन्थ्यो । आफ्ना र पार्टीका अन्तर्वस्तुलाई कलात्मक,प्रभावशाली तथा ओजनदार अभिव्यक्तिका साथ विषयवस्तुको प्रस्तुति नेम्बाङको विशिष्ट क्षमता हो । विपक्षी वा विरोधीलाई समेत सुनूँ सुनूँ लाग्ने उहाँको सुकोमल फूल सरहका वाणीले हातमा चरम जातीय घृणाको तरबार उज्याइ रहेको युवाको नौनारी गलाउँछ । यस्ता वाक्कलायुक्त वाणीले सबै खालका अतिवादीलाई समेत ठेगान लगाउन सक्छ । नेताहरूले यस्ता विशिष्ट विशेषता आर्जन गर्न सके सिके एमाले विरोधी नानाभाँतीका भ्रम निवारण गर्न सकिन्थ्यो । यसको अभावका कारण भँगेरा टाउके अक्षरमा लेखिएका अनेक असङ्गतिपूर्ण कुप्रचार हाबी हुन सकेका हुन् । पार्टीमा आलोचनात्मक चेत निरुत्साहित हुनाले पनि अधिकांश नेता र कार्यकर्ता सत्यतथ्य केलाउन असमर्थ देखिन्छन् । अझ वर्ग पक्षधरता अधिकांशमा अत्यन्त कमजोर हुनाले तथ्यपरक प्रतिवाद गर्न सक्तैनन् । अन्धकार खोजीखोजी मास्न खोज्ने तेजिलो सूर्यझैँ प्रायः पौरखी नेतृत्वका अभावमा अधिकांश कार्यकर्तालाई कमिलालाई के को पहिरोझैँ भएको हो ।
जननेता मदन भण्डारीले उहिल्यै नेता केपी शर्मा ओलीले बोल्दा मात्र आधा समस्या समाधान हुन्छ भन्नु भएको थियो । यसबाट सत्य,तथ्य कुरालाई रोचक र अति आवश्यक पर्दा हल्का घोचक पाराको प्रस्तुति कति सार्थक तथा प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट हुन्छ । जबज अनुसार राम्रा काम गर्ने र त्यसको घैँटामा घाम लाग्ने गरी प्रचार पनि गर्ने हो । यसरी मात्र जनताको मन जित्न सकिन्छ । यति काम पनि गर्न नसक्ने नेता कहिल्यै उन्नत स्तरको नेता हुन सक्दैन कथंकदाचित् भइगयो भने त्यो नाममात्र को हुन्छ कामको कुनै हालतमा हुँदैन ।
गम्भीर अध्ययन र लोक जीवनको सूक्ष्म निरीक्षण बिना त्यसै प्रभावशाली अभिव्यक्ति आउँदैन । बारबार बोल्ने र लेख्ने अभ्यास बिना अभिव्यक्तिमा निखार पनि आउँदैन । प्रतिभाशाली र प्रभावशाली व्यक्तिमा चुम्बकीय क्षमता हुन्छ । यस्तो क्षमताले नेतालाई कर्मी मौरीको रानो बनाउँछ । यस्तै नेताका प्रभावका पार्टी विस्तारित पनि हुन्छ । उच्च तहको नेताले रत्नाकर र अङ्गुलीमाल जस्ता डाका र हत्यारालाई साधु र सज्जन बनाउन सक्ने क्षमता विकास गर्नु पर्छ । बुद्धले सम्झाउँदा जस्तासुकै अठार वक्र मानिस सद्दे हुन्थे । हाँस्न,हिसी पारेर बोल्न र व्यवहार गर्न नै प्रशिक्षित गर्नु पर्ने निरीह अवस्था देख्दा मर्म स्पर्शी अभिव्यक्ति त परकै कुरा भयो ।
सुवास नेम्बाङका बोली र लोलीमा अधिक आकर्षण क्षमता थियो । उहाँमा रहेको अन्तर्मुखी स्वभाव थोरै मुस्कानमा पनि अभिव्यक्त भएको भए सुनमा सुगन्ध हुन्थ्यो जस्तो लाग्छ । उहाँलाई अहिले परिणामबाट अझ बुझ्न पाइयो । सुवासलाई नानाथरि आरोप र आक्षेप लगाउनेले लगाए । अझैँ एकाध दुर्मुखा वकिल र नाक नस्लहरू बोली र वचनले उहाँलाई धारे हात लगाउनेको कमी छैन तर वहाँका कान्छा छोराको अभिव्यक्ति सुन्दा सुवासका थप विशेषता बारे जानकारी भयो । बाबाले राजनीति सेवा हो यसमा लाग्ने हो भने आफ्नो आर्थिक भौतिक अवस्थालाई पनि ध्यान दिनु पर्छ भनेको कुरा कान्छा छोराले बताए । कपटी मानिसहरूले भनेझैँ राजनीति र राजकीय पदमा यतिका वर्ष लाग्दा सुवासले अतिरिक्त आय आर्जनतिर मात्रै हत्ते हालेर लागेको व्यवहारबाट कतै देखिएन । अहिले एकाध नेता बाबु छोरा दुवै सुन तस्करीमा जेल परिरहेको दर्दनाक दृश्य देख्नु परेको छ । यस्तो लाज मर्दो अवस्था अरू कति देख्नु पर्ने हो । बालुवा टाहार जग्गा प्रकरणका ठूला ठूला दागीहरू सरम पचाएर सिर ठाडो पारेर हिँडिरहेका छन् । तिनलाई सुनपानीले चोख्याउन प्रधानमन्त्री प्रचण्ड नै हत्ते हालेर लागेको देख्दा देशको सिर निहुरिएको छ । त्यसैले ती लगायत सबै बदनामीका काम र कर्मबाट आफूलाई अलग राख्न सुवास समर्थ हुनुभयो । ससाना बदनामीबाट पनि बचाउँदै जोगाउँदै राजनीतिमा सक्रिय समर्पित सुवास देशको मूल्यवान् सम्पत्ति हुनुहुन्छ । उहाँका उपयुक्त गुणहरू नेताहरूले समयमै सिके कति जाती हुन्थ्यो तर मन चाहिँ खालि धन र मालतिर हुँदा तिनले उपर्युक्त गुण सिक्छन् सिक्दैनन् थाहा छैन । नत्र जननेता मदन भण्डारी र पार्टी अध्यक्ष ओलीका विशिष्ट गुणबाट नेताले आजका दिन सम्म के सिके ? सिकेको भए तिनका बोली र व्यवहारमा देखिनु पर्थ्यो नि त ? गुरुले त सकेसम्म पठाए,सिकाए र घोटाए अनि कक्षा पनि चढे तर ज्ञान र गुण खासै बढेन । तन र मन दिएर सिकेको भए मिहेनत गरेको भए यी कुरा सिक्न कुनै भारी बात नै होइन ।
माकुने प्रवृत्तिले १५ वर्ष पार्टीमा रजगज गरेकाले पनि पार्टी भित्रैदेखि खोक्रो भएको हो । पठन संस्कृति नौ दिनमा नौलो बीस दिनमा बिर्स्यो भनेझैँ हुन्छ र भयो पनि । नवौँ महाधिवेशन पछि मदनकै लयमा पार्टी अगाडि बढ्न खोज्दै छ । तर बिग्रन सजिलो हुन्छ,तर बिग्रेको बानी सप्रिन समय लाग्छ । अहिले कोसी प्रदेशमा नै भावी नेतृत्वको दौड सुरु भएको देखिन्छ । तर नेतृत्वले अब के गर्ने ? कसरी गर्ने ? एजेन्डा के हो भन्ने कुरासित दाबेदारको खास दृष्टिकोण छैन । यो प्रदेश मात्र होइन अरूतिर पनि पार्टी शिथिल र सुस्त भएको तिनै क्षेत्रका अगुवा नेताका कारणले भएको हो । पानी र बानी माथिबाट आउँछ । मुहानमै ढलमतीको ढलीमली भएपछि तल सङ्लो पानी बग्दैन । कुनै पनि नेताले पाएको राजनीतिक र राजकीय नेतृत्व गर्ने पहिलो मौका नै भरपुर सदुपयोग गर्छ, गर्न सक्नुपर्छ र गरिखाने स्वभाव देखाउन सक्नुपर्छ । समग्र आन्दोलनको अर्थ आशय र अन्तर्य नै नबुझ्ने नेतृत्व एकलकाँटे हुन्छ । कोसीमा यही दरिद्र अवस्था देखेर यस लेखकलाई काम कसरी गरिन्छ र गर्न सकिन्छ भनेर उदाहरण बन्न मन छ ।
युवा सङ्घ कोसी प्रदेश , प्रमुख अतिथि सुवास नेम्बाङले कथित पहिचानबारे
नेपालको नाम र झन्डा फेर्न उद्यत उग्रवादी प्रवृत्ति,बहुजातीय राष्ट्र नेपालमा जातीय धार्मिक आदि अनेक द्वन्द्व सिर्जना गरेर नेपालको अन्तध्वंश गर्ने दुष्प्रवृत्तिको कलात्मक बान्कीमा उछित्तो काढ्नु भएको थियो । नेपालको संविधान निर्माण र सदनबाट पारित गर्न आनाकानी गर्ने पूर्व राष्ट्रपति यादवलाई समेत सहमत गराउन सक्ने सामर्थ्य भएको नेता सुवास हुनुहुन्छ । यसमा राजनीतिक रुपमा सबै खालका बारबन्देजलाई नाकाम पार्ने एमाले र ओली नै हुनुहुन्थ्यो । सुप्रसिद्ध विद्वान् प्रा.डा.भाष्करदत्त पन्तले त्यतिबेला संविधान जारी नभएको भए यो देशको अस्तित्व नै धरापमा पर्थ्यो भन्नुभएको छ ।
पार्टी अध्यक्ष ओलीले कोसी प्रदेशको विस्तारित बैठकमा पहिचान विषयमा नै केन्द्रित भएर प्रशिक्षण दिनु भएको थियो । उहाँले राजनीति र पहिचानको राजनीतिलाई तुलना गर्दै सत्य तथ्य उल्लेख गर्नु भएको थियो । राजनीति अन्तर्गत देशको बहुआयामिक विकास निर्माणका समग्र नीति विधि र विधान आउँछन् तर पहिचानको राजनीतिमा जात,थर,गोत्र,नाक,नस्ल र तिनलाई अधिकार दिने कुरा मात्रै आउँछ । उहाँले रुवान्डाकै पहिचानी राजनीतिका कारण भएको आम नरसंहारलाई उदाहरण दिनु भएको थियो । ओलीले यसरी मूल मुद्दा परित्याग गरेर हामी र हाम्रो मुलुकको किमार्थ भलो नहुने कुरा बताउनु भएको थियो । कथित पहिचानको भुलभुलैयामा पर्ने नेता एमालेमा छैनन् भन्न सकिन्न । कतिपय थर र गोत्र थरी बाहुनवादी पहिचानीहरुको दरिद्रतम् अवस्था देख्दा यस लेखकलाई अत्यन्त सरम लाग्छ । कोसी प्रदेशमा नामकरणका विषयमा उछालिएको अत्यन्त अराजक विषयलाई कम्तीमा पार्टी भित्र अन्तर्क्रिया सम्म गरौँ भन्ने यो लेखकका कुरा कुनै नेताले सुनेनन् । आफू नजान्ने अनि भनेको पनि नमान्ने नेताले यस प्रदेशलाई अरू बिचल्लीमा पार्ने निश्चित देखिन्छ । प्रदेश १ को नामकरण विषयमा सही छाप गर्ने माओवादी,नेकाँलगायत पार्टी नै दोहोरो र दुई जिब्रे सरम लाग्दो भूमिका निर्वाह गरिरहेका छन् । विधिलाई मान्ने जो सुकैले यसको विरोध गर्न सुहाउँदैन । आगामी निर्वाचनमा बहुमत ल्याएर नाम परिवर्तन गर्ने बाहेक अरू कुनै विकल्प छैन ।
बोल्न जान्दा पीठो समेत बिक्छ तर चामल बेच्न नजान्ने नेता देख्दा अचम्म लाग्छ । एङ्गेल्सले कवि लेखकलाई आफ्ना रचनाहरूमा निजी विचार समेसम्म खुल्ला रुपमा होइन प्रसन्न रुपमा अभिव्यक्त गर्नु पर्छ भन्नु भएको थियो । यही कुरा बाझ्ने र गम्भीर रुपमा मनन गर्ने नेताको त कुरै छाडौँ अगुवा जन सांस्कृतिक कर्मीकै अनिकाल छ । गर्ने गुदीदार कामै काम छ तर काम चाहिँ शून्य जस्तै छ । एङ्गेल्सको उक्तिको मतलब कला साहित्यमा मात्र होइन अरू कुनै विषय वा राजनैतिक विषयमा पनि आवश्यकता हेरी सकेसम्म सबैलाई प्रभावित पार्ने सुपाच्य बोली बोल्नु पर्छ भन्ने हो । मार्क्सवाद नभनी मार्क्सवादी कुरा र जबज नभनी जबजको सार तत्त्व बोल्ने नेता स्व. सुवास जस्ता नेता हुनुहुन्थ्यो । बोल्न जान्दा यही बोलीमा रस हुन्छ र रसदार बोली सबैलाई सुपाच्य हुन्छ ।
कथित.पहिचानवादीले सार कुरो नै बुझेनन् । जात,भात, नाक र नस्ल जस्ता विषय मानव इतिहासको मध्य युगमा सुरु र विकसित भएका हुन् । कविला समाजमा कहाँ जात जाति र नाक नस्ल थियो र ? शिव र पार्वतीको प्रणय संसारकै उदाहरणीय विषय हो । तिनबाट जन्मिएको सन्तान कुन जातको हो कसैले भन्न सक्छ ?दासी पुत्र विदुरको कत्रो सम्मान थियो । विश्वकर्मालाई बाबा भनेर ढोग्ने तर उही जातको कामीलाई छिछि र दुरदुर गर्ने हामी पहिचानवादी ? जन्मले व्यास संस्कारहीन वा शूद्र हुन् तर कर्मले १८ पुराणका रचयिता विद्वान् हुन् । परापूर्व कालमा गार्गी जस्ता मन्त्रद्रष्टा ऋषिकाहरु कति सम्मानित थिए । तर सामन्तवादले नारीलाई चरम उपेक्षा र अपमान गर्दै ढोल, पशु , रानी ताडन के अधिकारी भनेको होइन र ? । ओलीले उपनिषद्का कतिपय श्लोकहरू पछिल्लो अवधिमा लेखिएका हुन् भन्नु भएको छ र तिनमा नारीलाई चरम उपेक्षा र अपमान गर्ने खालको श्लोक लेखिएको बताउनुभएको छ । बहुआयामिक ज्ञान लिन नचाहने नेताहरूलाई कागलाई बेलकाइो हर्ष र विस्मात् भएको छ । रामलाई सवरीले बयर खुवाएको प्रसङ्गले छुवाछुत थियो भन्छ ?, पं.छविलाल पोखरेल,काले राई उर्फ स्वामी प्रपन्नाचार्य,योगी नरहरिनाथ,मोदनाथ प्रश्रित, र डा. जगमान गुरुङलाई राम्ररी चिन्ने नेता कति छन्,जसले जात,पात, उँच, नीच जस्ता सतही पहिचानलाई पर्गेल्दै पछारेका छन् ।
मिसन ८४ को नाराले मात्र हुन्छ कि त्यसको चुरो पनि अपरिहार्य हुन्छ ? पात,बोक्रा,पलाँस, र चुरो सबै तरिकाले पार्टी पङ्क्ति परिचालित हुनुपर्छ । बोक्रे शैलीको मात्र भर पर्नु हुन्न । एउटा उच्च तहको नेता गुदीदार हुनुपर्छ । पार्टीमा र देशमा देखा परेका सबै खालका उल्झन र अल्झन समाधान गर्ने हैसियतको हुनुपर्छ । स्व. सुवास नेम्बाङमा उक्त क्षमता देखियो । जान्दा श्रीखण्डै श्रीखण्ड हुन्छ नजान्दा खुर्पाका बिँड अगेनाको दाउरो ।
(इटहरी निवासी लेखक एमाले कोसी प्रदेश संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।)
प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ३ : ४९ बजे
प्रतिक्रिया