राष्ट्रिय बाल दिवसका अवसरमा पूर्व राष्ट्रपति भण्डारीको सन्देश

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिनु भएको छ ।

सन्देशमा पूर्व राष्ट्रपति भण्डारील संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउँदै आएको स्मरण गर्नुभएको छ ।

यस्तो छ उहाँको सन्देश –

यस वर्ष “बालबालिकामा लगानीस् सुनिश्चित भविष्यको थालनी” भन्ने मूल विषयका साथ राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । यस अवसरमा म सम्पूर्ण नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार हुन् । उनीहरू भविष्यका नेता, नीति निर्माता र आविष्कारक समेत हुन् । तसर्थ,भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्ति उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाको लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्त्व रहेको कुरामा म जोड दिन चाहन्छु ।

मानिसको जीवनका प्रारम्भिक वर्षहरू, अर्थात् बाल्यकालमा नै उनीहरूको मूल्यमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् । बालबालिका आज हामीले रोप्ने बीउ जस्तै हुन् । सही हेरचाह र उचित पालनपोषणसँगै तिनीहरू बलियो र जीवन्त रूख बन्नेछन्, जसले भविष्यमा समाज र राष्ट्रको लागि विकास र समृद्धिको फल फलाउँनेछन् ।

म सम्पूर्ण अभिभावक, शिक्षक, नीति निर्माता र नागरिक समाज लगायत सबै सरोकारवालाहरूलाई हाम्रा बालबालिकाको सर्वाङ्गीण विकासको लागि समन्वय र सहकार्य गर्न आग्रह गर्दछु ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : २६ बजे