सामाजिक सञ्जालमार्फत जनताको भावनालाई खिचेकाे भन्दै टाइम म्यागेजिनको १०० औँ सूचीमा मेयर शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा पर्नुभएको छ।

प्रमुख शाहले सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्रामकाे प्रयोग गर्दै यथास्थितिमा मतदाताको भावनालाई आफ्नो पक्षमा पार्न सफल भएको भन्दै सूचीमा समेटेकाे हाे । 

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित हुनुभएकाे थियाे । 

स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका ३३ वर्षीय प्रमुख शाहले गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा फोहरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिवद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकाले जनाएकाे छ ।

साथै फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेकोसमेत पत्रिकामा उल्लेख छ। प्रमुख शाहले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ३ : ५९ बजे