पार्टीको झण्डा ओढाएर ओलीद्वारा नेम्वाङको अन्तिम विदाई

काठमाडौँ  । संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टिको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

पशुपति आर्यघाटमा पार्टिको झण्डा ओढाएर उहाँले अन्तिम विदाई गर्नुभएको हो । 

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । श्रद्धाञ्जलिको क्रम जारीे छ । राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा आर्यघाट ल्याइएको थियो । नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको छ । 

यही भदौ २६ गते हृदयाघातका कारण निधन हुनुभएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  १२ : ५७ बजे