दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

तीन दशकदेखि मुटुको नियमित औषधि सेवन गर्थे नेम्वाङ

काठमाडौँ । हृदयाघातका कारण निधन हुनुभएका संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले विगत तीस वर्षदेखि मुटु सम्बन्धी नियमित औषधी सेवन गर्नुहुन्थ्यो । मुटुको चाल गडबडी हुने समस्याबाट पीडित नेम्वाङको तीस वर्षअघि भारत लगेर उपचार गरिएको थियो । 

वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा.अरुण सायमीका अनुसार नेम्बाङ करिब ३ दशकदेखि मुटुको चाल गडबडी हुने समस्याबाट पीडित हुनुहुन्थ्यो । जसले गर्दा झन्डै तीन दशकदेखि मुटुको चाल गडबडी हुने समस्याको नियमित औषधि खाइरहनुभएको थियो । 

‘३० वर्षदेखि नै उहाँलाई मुटुको चाल गडबडी हुने समस्या थियो। उहाँ कानुनमन्त्री भएको समयमा मैले नै भारत लगेर उपचार गराएको थिएँ। त्यसयता उहाँ नियमित मुटुको चाल सम्बन्धी औषधि सेवन गरिरहनु भएको थियो।  पछिल्लो समय गत वर्ष मात्रै उहाँको मैले मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफ गरेर मुटुको परीक्षण गरेको थिएँ‚ सबै ठिक थियो’‚ डा। सायमीले भन्नुभयो।

‘सुगर, प्रेसर र उच्च कोलेस्टोरोल भएकाहरूलाई हृदयाघातको उच्च जोखिम मानिने भए पनि हृदयाघात जुनसुकै बेला स्वस्थ मानिसलाई पनि हुनसक्छ तर मुख्य कुरा हृदयाघात हुने बित्तिकै एक तिहाइ बिरामी समयमै अस्पताल पुग्दैनन्। सुवास नेम्वाङको सम्बन्धमा पनि त्यही भएको देखिन्छ’,डा.सायमीले भन्नुभयो।

कुनै पनि रोगको लक्षण नदेखिएका बेला पनि कहिलेकाहीँ मुटुको चाल अचानक बन्द भई आकस्मिक हृदयाघात हुने सम्भावना हुन्छ। उच्च रक्तचाप, मधुमेह र कोलेस्टोरोलको समस्या भएकालाई उच्च जोखिम समूहमा राखिन्छ।

हृदयाघात हुने बेला छाती दुख्ने, जीउ भारी हुने जस्ता लक्षण देखिन्छ। आकस्मिक हृदयाघात हुनेलाई त्यस्तो केही लक्षण नदेखिईकन अचानक मुटुको चालमा तीव्र गडबड मुटुको चाल बन्द भएर (सडेन डेथ) मृत्यु हुन सक्ने डा.सायमीको भनाइ छ।

पाँच वर्षयता भने नेम्वाङलाई संघीय संसद्को चिकित्सक पुष्पराज रिजालले जाँच्दै आउनुभएकाे थियाे । उहाँले नियमितजसो नेम्वाङको रक्तचाप र मधुमेह जाँच गरिरहनुहुन्थ्याे।

डा. रिजालका अनुसार उच्च रक्तचाप र मधुमेहको औषधि खाइरहेकाले वेलावेलामा नेम्वाङलाई रिंगटा लाग्ने र कमजोर महसूस हुने भए पनि पाँच वर्षयता भने उहाँमा गम्भीर समस्या देखिएको थिएन।

नेम्वाङलाई मंगलबार बिहान १ बजेर ५० मिनेटमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार आकस्मिक कक्षमा रहेका चिकित्सकले जाँच गर्दा उनमा ‘जीवन सम्बन्धी कुनै चाल’ देखिएको थिएन।

अस्पताल पुर्‍याउँदा नै उहाँको आँखाको नानी फुलिसकेको थियो भने रक्तचाप र मुटु मापन नहुने अवस्थामा थियो। चिकित्सकले ३५ मिनेटसम्म कृत्रिम श्वासप्रश्वास दिंदा पनि ‘जीवन सम्बन्धी कुनै सङ्केत नदेखिएकाले’ तीन बजे नेम्वाङलाई मृत घोषणा गरिएको थियो।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : २५ बजे