‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आज विहान ८ बजेसम्म मलङ्गवामा कर्फ्यु

मलङ्गवा (सर्लाही) – सर्लाहीको सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी छ ।

​​​​​​​ जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिवार साँझ ५ बजेदेखि आज विहान ८ बजेसम्म कर्फ्यु  जारी रहेको बताउनुभयो । 

शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो । विवाद ढुङ्गा हानाहान र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् । 

शनिवार दिउँसो फेरि दुवै पक्षबीच ढुङ्गा हानाहान हुनथालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । 

स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै आज जिल्ला प्रशासन कार्यालय सर्लाही मलङ्गवामा सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर शनिबार बिहानैदेखि सदरमुकाम मलङ्गवामा टायर बालेर प्रदर्शन र ढुङ्गामुढा हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोलपम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

घटनास्थलमा अहिले उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मीको तैनाथ गरिएको छ । यहाँबाट चल्ने साना तथा लामो दूरीका यातायातका साधन चल्न सकेको छैन ।
 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : ०७ बजे