‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कानुनमन्त्री धनराज गुरुङका अभिव्यक्तिप्रति जवाफदेहिता निगरानी समितिको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योग सम्बन्धी काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि प्रत्यक्ष राजनीतिक प्रभाव पर्ने गरी कानुनमन्त्री धनराज गुरुङले सार्वजनिक सञ्चारमाध्यममार्फत बारम्बार दिएका  अभिव्यक्तिप्रति जवाफदेहिता निगरानी समितिले आपत्ती जनाएको छ ।

समितिले मन्त्री गुरुङले दलगत स्वार्थको साँघुरो घेरामा रहेर विचाराधिन मुद्दामाथि अनावश्यक टिपपणी ग्नु खेद जनक भएको भन्दै यस्ता अभिव्यक्ति पदीय मर्यादा विपरीत भएको जनाएको छ । ‘लोकतन्त्रको आधारशिला शक्तिपृथकीकरणको सिद्धान्त हो । पीडितको न्यायिक अधिकारको सुनिश्चितता लोकतान्त्रिक सरकारको आधारभूत कानूनी दायित्व हो । स्वतन्त्र न्यायपालिका तथा कानूनी सर्वोच्चताको सम्मानबाट कानूनी राज्यको प्रत्याभूति हुने गर्दछ । तर दलगत राजनीतिको साँघुरो घेरामा रहेर आरोपित नेविसंघका नेता तथा कार्यकर्तालाई उन्मुक्ति दिने उद्देश्यबाट अदालतमा विचाराधीन मुद्दामा कानुनमन्त्री गुरुङले आरोपितलाई ‘निर्दोष’ भएको ठहर गरी विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुनका साथै पदीय मर्यादा विपरीत पनि भएको निगरानी समितिको ठहर छ ।,’ समितिले एक विज्ञप्तीमा भनेको छ । 

निगरानी समितिले  नेपालको संविधानले अपराध पीडितको मौलिक हक सुनिश्चित गरेको भन्दै  पीडितको न्यायिक हक अवरोध गर्नु मानवअधिकारका आधारभूत सिद्धान्त, मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नेपाल पक्षराष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकार महासन्धि १९६६ समेतको विपरीत रहेको जनाएको छ ।  ‘नागरिकको मौलिक हकको रक्षा गर्नुपर्ने सरोकारवाला सरकारका मन्त्रीले आफ्नो क्षेत्राधिकार नाघेर न्यायालयलाई प्रभाव पार्ने एवं ‘ज्यान मार्ने उद्योग’का आरोपितलाई बचाऊ गर्नेगरी सार्वजनिक अभिव्यक्ति दिनु स्वतन्त्र न्यायपालिकाप्रति अनास्था तथा अविश्वासको वातावरण निर्माण गर्ने र पीडितको न्यायिक अधिकारमाथि अवरोध हुनसक्ने कार्य भएकाले अत्यन्तै निन्दनीय एवं आपत्तिजनक छ ।’विज्ञप्तीमा भनिएको छ । 

आपराधिक गतिविधिमा संलग्न जोसुकैको संरक्षण लोकतान्त्रिक प्रणालीमा स्वीकार्य हुन सक्दैन भन्दै समतिले  यसबाट पीडितको न्यायसम्बन्धी नैसर्गिक अधिकारको उल्लंघन हुनका साथै दण्डहीनतालाई संस्थागत गर्ने र कानूनी राज्यको उपहास हुने बताएको छ ।  । समितिले पीडितको न्यायको हक रक्षा गर्न, न्यायिक स्वतन्त्रता कायम राख्न, आपराधिक गतिविधिको राजनीतीकरण रोक्न, कानूनमन्त्री धनराज गुरुङलाई पदीय मर्यादाबाट विचलित नहुनका साथै प्रेम चलाउनेको न्यायिक अधिकार सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ३ : २७ बजे