उपयोगितावादको नाटकः प्रधानमन्त्री प्रचण्डको टेलिफोन सम्वाद !

शनिवार, १६ भदौ २०८० का दिन प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको जनतासँगको सम्वाद कार्यक्रम चन्द्रागिरि नगरपालिका २ मा देखिदा जनतालाई मूर्ख बनाउने गरी प्रस्तुत भए। नेपालमा बन्दै गरेको सुरुङ मार्गबाट प्रभावित जनताका मागलाई सम्बोधन गर्ने जुन शैली अपनाए त्यसले जनतालाई झुक्याउन खोजेको स्पष्ट बुझिन्थ्यो। प्रचण्डले पार्टीको कार्यक्रम कै बीचमा प्रधानमन्त्री पदको दुरूपयोग गरेर सुरुङ मार्गको आयोजना प्रमुखलाई फोन गर्ने वातावरण मिलाएको देखिन्थ्यो। प्रचण्डले जुन कुरा प्रधानमन्त्रीका रूपमा सम्बन्धित मन्त्रालयको मन्त्रीलाई भन्नुपर्थ्यो तर त्यसो गरेनन् बरू सार्वजनिक खपतका लागि आफू राम्रो देखिन आयोजना प्रमुखसँगको सम्वाद गर्न रमाएको देखियो। प्रचण्डको यस्तो राजनीतिबाट भोलिका दिनमा जनता भ्रमित मात्र होइन, अराजक पनि बन्न सक्छन्।

त्यही कार्यक्रममा प्रचण्डले आफ्नो बालुवाटारको बसाइ पाँचै वर्ष बस्ने सङ्केत गर्दै भनेका थिए, “‘प्रधानमन्त्रीबाट हटाए भने करोडौं जनता सडकमा उतारौंला भनेको थिएँ तर परिस्थितिले पाँचै वर्ष प्रधानमन्त्री बनाउला जस्तो छ।” प्रचण्डको यो  भनाइबाट को को झस्किए होलान् ? शेरबहादुर देउवाले के के सोचेका होलान् र के गर्लान् भन्ने प्रश्नले प्राथमिकता पाएको छ। त्यस्तै प्रचण्ड पछि आफू प्रधानमन्त्री बन्ने आसमा प्रचण्डको दास बनेका माधव नेपाल के सोच्दै होलान् ? उत्तर खोज्नुपर्ने भएको छ। फेरि भोलिका दिनमा देशलाई उपयोगितावादबाट मुक्त बनाएर समृद्ध बनाउन जनताको कस्तो प्रतिक्रिया आउला ? प्रतीक्षाको विषय बनेको छ।

नवउदारवाद अहिले जनताको बहुदलीय जनवाद (जबज) लाई कमजोर र निष्प्रभावी बनाउन आफूले मात्र नसक्ने भएपछि उपयोगितावाद र लोकप्रियतावादसँग सहकार्य गरेर जंकवादमार्फत गतिविधिहरू गर्दैछ। तर आफूलाई सबभन्दा बढी क्रान्तिकारी ठान्ने प्रचण्ड यतिखेर जंकवादको नेतृत्व गरेर सरकार चलाउन शेरबहादुर देउवाहरूको साथ सहयोग र समर्थनमा रमाएका छन्। जबकि देउवाहरू नेपालमा नवउदारवाद बलियो बनाउने राजनीतिमा संलग्न छन्। त्यस्तै हिजो आफैले खडा गरेको पार्टी नेकपा एमालेलाई कमजोर बनाउन माधव नेपाल न्वारानदेखिको बल लगाएर लागेका छन्। यसबाट हामीले बुझ्नुपर्छ, माझण्डहरू रूपमा वामपन्थी देखिएता पनि सारमा पूर्ण रूपमा दक्षिणपन्थी भइसकेका छन्। यो कुरो आमजनतालाई भन्नुपर्छ र बुझाउनु पर्छ।

नेकपा एमालेलाई कमजोर बनाउन दक्षिणपन्थीहरूले बनाएको कमजोरहरूको मोर्चा हो, कम्फर्टेबल सत्ता गठबन्धन र जंकवाद। यो कुरो अझै जनतालाई बुझाउन सकिएको छैन। जसका कारणले जंकवाद जनतालाई अलमल्याउन र  भावनात्मक रूपमा भड्काउन सफल भइरहेको छ। यही भड्काउका बीच काठमाडौँ महानगरका मेयर बालेन शाह स्वछन्द र अराजक भएर देखिएका छन्। महानगरको गाडी पारिवारिक प्रयोगमा लगाएको कुरो सार्वजनिक हुँदा सिंहदरबारमा आगो झोस्ने धम्की दिँदै गरेको भेटियो र पढियो। तर बालेनले साहस गरेको टिप्पणी पनि देखियो। यही राजनीतिका बीचमा अमेरिकाले आफ्नो स्वार्थमा एमसीसी परियोजना कार्यान्वयनमा लान सफल भएको छ। 

मेयर बालेन शाहको अराजकता र स्वछन्दतालाई साहस नभनौं किनभने जसरी आज प्रचण्डको अराजकता र स्वछन्दताबाट देश पीडित भइरहेको छ त्यसरी भोलि बालेनको अराजकता र स्वछन्दता देशका लागि अभिसाप बन्नेछ। महानगरले बालेनलाई गाडीको सुविधा उनको श्रीमती चढ्न र पारिवारिक प्रयोजनका लागि उपयोग गर्नका लागि दिएको होइन।  बालेनको यो प्रवृत्ति स्रोतसाधनको दुरूपयोग गर्ने नियतको स्पष्ट सङ्केत हो। यो प्रसङ्गलाई लिएर सेतोपाटी लेख्छ, “पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौंका मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की।” 

बालेनको सिंहदरबारमा आगो झोस्ने धम्की अनि प्रचण्डको प्रधानमन्त्रीबाट हटाए सडकमा करोडौं जनता उतार्ने घुर्की सत्ता शक्तिको उन्माद हो। जनताले प्रचण्ड र बालेनलाई एउटा निश्चित अवधिका लागि जनप्रतिनिधिका रूपमा जनसेवा गर्न चुनेका हुन। दम्भ देखाउनुको कुनै तुक छैन। यस्ता अराजक तथा स्वछन्द पात्र र प्रवृत्तिलाई गएको  स्थानीय र सङ्घको चुनावमा चिन्न नसक्नु जनताको ठूलो कमजोरी थियो। नेपालको राजनीतिमा २०५२ सालदेखि प्रवेश गराइएको स्वछन्दा र अराजकता सहितको हिंसा २८ वर्षपछि अर्को स्वरूपमा देखिँदै छ। जसको नेतृत्व एकातिरबाट बालेन शाहले त अर्कातिरबाट रवि लामिछानेले गर्न खोजिरहेका छन्। धरानका मेयर हर्क साम्पाङको स्वछन्दता र अराजकता हामी सबैले देखेकै छौ। जुन धरान द्वन्द्वमा प्रकट भएको थियो।

यति बेला यो खालको स्वछन्द र अराजक पात्र र प्रवृत्तिको मनोबल बढाउन सामाजिक सञ्जालमा व्यापक लगानी गरेर दुरूपयोग पनि गरिँदै छ। पहिले हिंसाको स्वरूप भौतिक थियो भने अहिले त्यसको स्वरूप शब्दमा देखिँदै छ। तर भोलिका दिनमा यो शब्दले देशलाई अर्को स्वरूपको द्वन्द्वमा फसाउन मुख्य भूमिका खेल्न सक्छ। हिजो हिंसाको नेतृत्व प्रचण्डले गरेका थिए भने आज काठमाडौंका मेयर बालेन साहले।

रूप पक्षलाई मात्र हेरियो भने हामी कतिलाई लाग्न सक्छ, बालेनको विद्रोही स्वर र शब्द ठिकै हो। तर यसको सार पक्ष अर्थात् अन्तर्य खोजियो भने बालेनको नियत ठिक नभएको बुझ्न सकिन्छ। यतिखेर हामीले बालेनलाई विधिको लगाम नलगाएर छाडा छोड्यौँ भने भोलि देशका लागि बालेन प्रचण्ड जस्तै समस्या बन्नेछन्। सामाजिक सञ्जालमा आएका उनका शब्दहरूले सभ्य समाज निर्माणमा योगदान गर्नेवाला छैन। त्यसैले समय मै बालेनलाई विधिबाट लगाम लगाउन र दण्डित गर्न सक्नुपर्छ।

नेता त्यो हो, जसले ठिक बाटो चिनेको हुन्छ, सोही बाटोमा हिँड्छ र जनतालाई पनि सही बाटो देखाउँछ।” तर आज नयाँ भन्नेहरू हुन कि आफूलाई क्रान्तिकारी ठान्नेहरू जनतालाई स्वछन्द र अराजक बन्न प्रेरित गरिरहेका छन्। बालेन शाह र प्रचण्डका गतिविधिहरू हाम्रा लागि आज उदाहरण भएका छन्। यस्ता खराब पात्रलाई नेता अर्थात् अगुवा मानेर अघि बढ्नु भनेको देशको अवस्था अझ जटिल बनाउनु र बाह्य हस्तक्षेप बढाउनु हो।

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : १७ बजे