‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दावामाथि कारबाही गर्न गृह मन्त्रालयबाट बेवास्ता

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले औंल्याएको छ ।

छानबिन समितिले तयार परेको १६८ पृष्ठको प्रतिवेदनमा दावामाथि कारबाही नहुनुमा राजनीतिक संरक्षण नै प्रमुख कारक रहेको समितिले औंल्याइएको हो ।

प्रतिवेदनले – ‘कर्मचारी तथा राजनीतिक आडमा ठूलै सेटिङमा नै दावा छिरिङ लामा भनिने व्यक्तिले निमा तामाङको नामबाट नेपाली नागरिकता बनाई राहदानी प्रयोग गरी देश विदेशका आपराधिक गिरोह परिचालन गरी नेपालमा विभिन्न अपराध एवं अवैध काम गर्ने एउटा गैर देशीय नागरिकले लिएको नेपाली नागरिकताका सम्बन्धमा बुझाइएको प्रतिवेदनलाई गृह मन्त्रालयबाट बेवास्ता गर्दा अपराधीहरूले बारम्बार चलखेल गर्ने मौका पाइरहेको देखिन्छ ’ भनेर उल्लेख गरेको छ ।

गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा बनेको छानबिन समितिले तत्कालीन समयमा नागरिकता वितरणमा संलग्न अधिकृत झपेन्द्रराज खरेल, सुब्बा रामचन्द्र अर्याल, वडा अध्यक्ष भनिएकी सरस्वती पण्डित कार्की, वडाअध्यक्ष कृष्णबहादुर लामा र तत्कालीन प्रमुख जिल्ला अधिकारी शिव शिंखडासमेतलाई बयान लिएको थियो ।

प्रतिवेदनमा निमा तामाङले नागरिकता नम्बर ३०–०१–७४–११८६८ बाट २०७४ सालको पुष १९ गते १०७४२५५० नम्बरको राहदानी र पुन: १०८०५८०८ नम्बरको राहदानी बनाएको थियो ।

राहदानी जारी गर्दा राहदानी विभागमा सुरक्षित रहेको औंठा छाप बेल्जियम नागरिक दावा छिरिङको राहदानी नम्बर जीए ४५९७३६४ को औंठा छापसँग मेल खाएको थियो । 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : ५४ बजे