‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न अवैध तरकारी आयातमा कडाई

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन गर्ने अभियान अन्तर्गत नगरभित्र भारतीय तरकारी आयातमा रोक लगाउन पहल थालेको छ ।

खुला रूपमा नगरभित्र अवैध रूपमा भित्रने भारतीय तरकारीलाई चेकजाँच गरी कडाइ गरेको छ । नगरपालिकाले पहिलो प्राथमिकता नगरका किसानको उत्पादन, दोस्रो स्वदेशी र तेस्रोमा वैधानिक तरिकाबाट आउने तरकारीलाई प्राथमिकता दिने गरी अनुगमन र चेकजाँचलाई कडाइ गरेको जनाएको छ ।

आइतबार भारतबाट अवैध रूपमा ल्याइएका तरकारी र मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । नगरपालिकाले विशेष गरी साप्ताहिक हाटबजारमा विषादी परीक्षण नगरी अवैध रूपमा ल्याइएका तरकारीहरू बिक्री हुँदा एकातर्फ मानव स्वास्थ्यमा गम्भीर असर गर्ने र अर्कोतर्फ नगरभित्रका किसानका उत्पादनले बजार नपाउने समस्या भएपछि कडाइका साथ हरेक हाटबजारमा नगर प्रहरी परिचालन गरी निगरानी गरिने श्रेष्ठको भनाई छ । 

"हामीले किसानको स्थानीय उत्पादन खरिद बिक्री गर्न कृषि उपज तथा सङ्कलन केन्द्र स्थापना गर्ने तर निर्बाध रूपमा अवैध तरकारी आउँदा किसान मर्कामा परेको महसुस गर्‍यौ"नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

अवैध रूपमा कारोबार गर्न कोही कसैलाई छुट नभएको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । उहाँले नगर भित्रका ठुला व्यापारीलाई नगरका किसानले उत्पादन गरेका बस्तुलाई पहिलो प्राथमिकता दिएर खरिद गरिदिनुपर्ने, आन्तरिक उत्पादनले नपुगे भारतीय तरकारी ल्याउनै परे वैधानिक तवरले ल्याएर बिक्री गर्नुपर्ने बताउनुभयो । 

नगरले आइतबार  भारतबाट ल्याउँदै गरेका अवैध तरकारी बरामद गरी प्रहरी मार्फत भन्सार कार्यालय भैरहवा पठाइएको छ । 

भारतबाट अवैध रूपमा भित्रिने तरकारीका कारण  वैधानिक रूपले भन्सार गरी ल्याई कारोबार गर्ने व्यापारीहरूले आफूहरू मर्कामा परेको गुनासो गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ४७ बजे