सुनको मूल्यमा नयाँ कीर्तिमान

पाकिस्तानमा महँगीविरुद्ध व्यापारीको प्रदर्शन, सरकारलाई ७२ घण्टाको अल्टिमेटम

पाकिस्तानमा बढ्दो महँगी र विद्युत् महसुलको विरुद्धमा व्यापारीहरू सडकमा उत्रिएका छन्। लाहौर, कराची र पेसावरसहित देशभरका मुख्य पसल बन्द रहे। यो बन्दको आह्वान जमात–ए–इस्लामी पार्टीका नेता सिराज उल हकले गर्नुभएको थियो।

महँगी र विद्युत् महसुलको विषलाई लिएर हंगामा भएपछि पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवारुल अक काकडले केन्याको भ्रमण रद्द गर्नुभएको छ। कराचीमा ताजिर एक्सन कमिटीले शुक्रबार विद्युत् महसुल कम गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो। कमिटीले सरकारलाई चेतावनी दिँदै विद्युत् महसुल नघटाएर १० दिन हड्ताल गर्ने बताएको छ।

व्यापारी भन्छन् – एक लाख भाडा र एक लाख बिजुलीको बिल कसरी तिर्ने ?

कराचीका एक व्यापारी फाहद अहमदमका अनुसार सत्तामा बसेकासम्म सन्देश पुगोस् भन्नका लागि पसलहरू बन्द गरिएका छन्। ‘सरकारले यो समस्यालाई सही ढंगले बुझेन भने अर्को तरिका अपनाउनुपर्छ,’ व्यापारी अहमदले भन्नुभयो।

अहमदले आफूले एक लाख रुपैयाँ भाडा र त्यति नै रकमबराबर बिजुलीको बिल तिर्ने गरेको बताउनुभयो। ‘यसरी कसरी गुजारा हुन्छ ?’ उहाँले आक्रोश पोख्नुभयो।

सरकारले जारी गरेको तथ्यांकअनुसार अगस्ट अन्त्यसम्म पाकिस्तानमा महँगी दर २७.४ प्रतिशत पुगेको छ। एक लिटर पेट्रोलको मूल्य ३०० रुपैयाँभन्दा माथि छ।

‘पैसा तिर्नुको विकल्प छैन’

बढ्दो महँगीबीच कार्यवाहक प्रधानमन्त्री काकडले जनताले विद्युत् महसुल तिर्नैपर्ने बताउनुभयो। यसबाहेक अर्को विकल्प नरहेको भन्दै काकडले अहिले सबैलाई अनुदान दिएर भविष्यमा थप आर्थिक संकट मोल्न नसक्ने बताउनुभयो।

अर्थमन्त्री मोहम्मद सोहेलले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ऋणको किस्ता प्राप्त भएपछि देश चुनौतीपूर्ण समयबाट गुज्रिएको बताउनुभयो। ऋणपछि आइएमएफले दिएका सर्त पालना गर्दा सबै बोझ आम जनताको टाउकोमा थुप्रिएको उहाँको भनाइ छ।

‘पाकिस्तानमा महँगी सबभन्दा ठूलो समस्या हो,’ अर्थमन्त्री सोहेलले भन्नुभयो, ‘यसको कारण पाकिस्तान मुद्राको निरन्तरको अवमूल्य हो।’

पाकिस्तानी एक रुपैयाँको मूल्य डलरको तुलनामा ७६ वर्षकै निम्नस्तरमा छ। नेपालमा अमेरिकी एक डलरबराबर १३३ रुपैयाँ हुँदा पाकिस्तानमा ३०७ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : ०१ बजे