कोशी प्रदेश सरकारविरुद्वको रिट पूर्ण इजलासमा पठाउन आदेश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।

सभाध्यक्षको प्रयोग गरेर असंवैधानिकरूपमा विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा परेपनि पूर्ण इजलासमा लैजाने सहमति भएको एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयाे । पूर्ण इजलासमा २ भन्दा बढी न्यायाधीश हुन्छन् ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गर्नुभएकाे  थियाे । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १२ : ५७ बजे