‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भारतले गर्यो तीन देशका लागि चामल निर्यात प्रतिबन्ध फुकुवा, नेपाल भने परेन

 

काठमाडौं । भारतले लगाएको गैरबासमती (ह्वाइट राइस) चामल निर्यातको प्रतिबन्ध तीन देशको लागि फुकुवा गरेको छ। भारतको विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी)ले तीन देशका लागि प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ।

भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो। भारतले यी देशका लागि एक लाख ४३ हजार टन चामल निर्यात गर्नेछ।

भारतबाट सरकारी कम्पनी नेशनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत् यी ३ देशमा चामल पठाउन सक्नेछ। भारतले सरकारी तबरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो।

विदेश व्यापार महानिर्देशनालयले भुटानका लागि ७९ हजार टन, मोरिससका लागि १४ हजार टन र सिंगापुरका लागि ५० हजार टन गैरबासमती चामल निर्यातको लागि अनुमति दिएको जनाएको छ।

भारतले गत २० जुलाईमा विश्वभर गैरबासमती चामल निर्यात प्रतिबन्ध गरेको थियो। तर ती देशबाट चामलको व्यवस्था गर्न माग आएपछि सरकारले उनीहरुका लागि सीमित मात्रामा चामल निर्यात गर्न अनुमति दिएको हो।

नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र पठाएको थियो। तर भारतले पत्र पाएको दुईसातासम्म पनि प्रतिउत्तर पठाएको छैन। सो पत्रमार्फत् १० लाख टन धान, एक लाख टन चामल र ५० हजार टन चिनी माग गरिएको र वार्ताको क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए। सो पत्र साउन ३० गते पुगिसकेको मन्त्रीको भनाइ छ।

उच्च मूल्य वृद्धि रोक्नको लागि भारतले चामल निर्यातमा रोक लगाएको हो। भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ महँगिएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ४ : ४४ बजे