पाल्पा जिप दुर्घटना अपडेट : मृतक ३ जनाकै सनाखत

पाल्पा ।  पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य  भएको छ भने अन्य ८ जना घाइते भएका छन्।

तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका-२  जोर्तेमा ढुङ्गासहितको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको  हो। 

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका-७  की ५० वर्षीया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत अन्दाजी ३२ वर्षीय तानसेन पाल्पाका प्रहरी सहायक हवलदार  यमबहादुर गोदार र पोखरा महानगरपालिका-२५ का विनोद तिम्सीना रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएपी विरेन्द्र थापाले जानकारी दिनुभयाे ।

मृतक तिम्सीनाको पर्समा भेटिएको परिचयपत्रको आधारमा पहिना गरिएको डिएसी थापाले बताउनुभयाे ।  ढुङ्गासहिताको सुख्खा पहिरोले स्कारपियोको पछाडीको भाग क्षतविक्षत भएको छ मृतकहरु समेत पूर्ण रुपमा किचिएका थिए। 

तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जिप बिहान करिव  सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो।  घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको चालक सकुसल रहेको सूचना अधिकारी  थापाले बताउनुभयाे ।

घाइतेमध्ये एक जनाको बाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटना स्थल पहिरो स्थलमा डिभिजन सडक कार्यालय पाल्पाले राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरी स्तरउन्नती गर्दै आएको थियो। 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १२ : ०५ बजे