सुनको मूल्यमा नयाँ कीर्तिमान

ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै

​​​​​​​ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । 

लाखे जात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखे जात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । 

फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदै छन् । घरेलु टोलीले उद्घाटन खेलमा जुट विकास फुटबल क्लब इटहरीसँग प्रतिस्पर्धा गर्ने छ । 

यस्तै पाँचथरबाट फिदिम स्पोर्टस् क्लब, इलामबाट रेडहर्स क्लब, झापाबाट गोर्खा स्पोर्टस् क्लब र रेडस्टार क्लबले सहभागिता जनाउँदै छन् । 

मोरङबाट पथरी फुटबल क्लब, सुनसरीबाट जुट विकास फुटबल क्लब र भारतको दार्जिलिङबाट युनाइटेड खर्साङ क्लबको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । 

सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगिता सञ्चालन गर्न खेलमैदान र प्यारापिट तयार गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । 

लाखे जात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ८ : १३ बजे