मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु

पाल्पा । मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु भएको छ ।

जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोक्किँदा आज राति सोही मोटरसाइकलमा सवार सल्यान जिल्ला  कालीमाटी गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा भने अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलको पछाडि बसेका नवलपरासी श्रवल गाउँपालिका १ का २८ वर्षीय प्रकाश थारु रहेका छन्। 

घाइते थारुको मिसन अस्पतालमा उपचार हुन नसकी लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो। 

दुर्घटनाको बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : १८ बजे