सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने

काठमाडौं । सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ सुरु गर्ने भएको छ । 

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलीदेखि सो सिस्टम सुरु गर्न लागेको जानकारी दिनुभएको हो । आइतबार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको सामूहिक भेटमा उहाँले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पार्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको सुरुवात गर्नुपरेको बताउनु भयो । उहाँले प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताउनु भयो । सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उहाँले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘न्यायपालिका भित्र भएका अनियमितताका कुराहरू । अब त्यो त न्यायपालिका भित्र हुनसक्ने, भएका, हुने अनियमितताका कुराहरूलाई हामीले एउटा विधि र प्रणालीबाट सम्बोधन गर्नुपर्छ । सम्बोधन गर्ने क्रममा कतिपय कुराहरूलाई व्यवहारिक रूपमा पनि त्यसलाई सूक्ष्म रूपमा हेर्नुपर्ने, परख गर्नुपर्ने स्थिति आई पर्छ । सकभर हामीहरू चाहिँ एउटा प्रविधिबाटै जाऊ । प्रविधिमैत्री भयो भने त्यस्ता भनाइहरू, त्यस्ता काम कारबाहीहरूको गुनासो कम आउँछ कि भन्ने कुरा भएको हुनाले भोली मात्रै मैले जुन अस्ति तपाईँहरूको सामुन्ने भएको थिए । पेशी तारेख अटोमेशन शुभारम्भ । कि अब पेशी तारेख हुँदा खेरी कर्मचारीहरूले एउटा प्रविधिबाट मात्रै तोकिने, त्यसमा मानव हस्तक्षेप नहुने प्रविधि भोलिदेखि म शुभारम्भ गर्दैछु । यस्तै यस्तै माध्यमबाट हामी अनियमिततालाई छेक्ने, अनियमितता हुन नदिने आदि कुराहरू सानातिना व्यवस्थापकीय कार्यहरूबाट पनि गर्न सकिन्छ होला । प्रविधिमा म त धेरै भरोसा गर्दछु । मैले भने कि त्यो पूरा प्रविधिमैत्री छ । हरेक कुराहरू प्रविधिमै आबद्ध हुनुपर्ने, त्यो नभई हुँदै नहुने । कर्मचारीहरूले त्यो प्रविधिमा आबद्ध भएनन् भने कामै अगाडि नबढ्ने । जान्नुपर्ने बाध्यता छ त्यो । गर्नैपर्ने बाध्यता छ, त्यो । त्यसलाई सफल पार्नु पाएदेखि सानातिना हामीमाथि लागेको जो होलान् पनि । ती अनियमितताहरूलाई न्यूनीकरण गर्न सकिन्छ कि भन्ने मलाई लागेको छ । त्यसैले अनियमितता हुने कुराहरूमा न्याय सेवा दिने क्रममा हुने अनियमितता त फेरि छुट्टै ढङ्गले त्यो छानबिन, जाँचबुझ हुन्छ नै । त्यो त अध्ययन भई नै रहन्छ । न्याय परिषद् छ । न्याय परिषद्ले हेर्छ । हेरिराखेको छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताउनु भयो । मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरू समेत नहुँदा अफ्प्ठ्यारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो । 

उहाँले भन्नुभयो,  ‘न्यायाधीश नियुक्तिको विषय म तत्काल गरिहाल्छु । न्यायाधीश नियुक्ति नगरी नहुने भएको छ । त्यो मैले महसुस गरेको छु । म त्यसमा लागि सकेको छु । छिट्टै त्यो नतिजामा आउँछ होला । साथीहरू कम छ । मुद्दाहरूको बोझ छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।    

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : २८ बजे