गौ हत्याको विरोधमा कोसी प्रदेशका विभिन्न ठाउँमा हिन्दुहरूको विरोध प्रदर्शन

विराटनगर । गौ हत्याको विरोधमा कोसी प्रदेशका विभिन्न ठाउँमा हिन्दुहरूले विरोध प्रदर्शन गरेका छन् । 

इटहरी, झापालगायतका ठाउँ ठाउँबाट मानिसहरू विभिन्न नारा लगाउँदै धरानतर्फ जाने तयारीमा छन् तर प्रहरीले धरान पुग्नु अगावै विभिन्न ठाउँमा उनीहरूलाई रोकेको छ । 

इटहरी चोक, झापाको चारपाने आदि ठाउँबाट प्रहरीले आन्दोलनकारीलाई अघि बढ्न दिएको छैन । झापामा बस रोकिएपछि हिन्दु धर्मावलम्बीहरूले सडकमै विरोध जनाइरहेका छन् । 

शान्तिपूर्ण आन्दोलनमा हिँडेको समूहलाई प्रहरीले रोकेपछि प्रहरी प्रशासन विरुद्ध नाराबाजी भइरहेको छ । झापाबाट जाँदै गरेको बस जिल्ला प्रशासन कार्यालयले चारपानेमा रोकेको हो । प्रशासनले बाटो छेकेर अगाडी बढ्न नदिएपछि हिन्दु धर्मावलम्बीहरूले गौ हत्या गर्न पाइँदैन, हिन्दु राष्ट्र कायम गर भन्दै नाराबाजी गरिरहेका छन् । 

शङ्ख ध्वनिसहित विरोध जनाइरहेका उनीहरूले गौ हाम्रो आमा हुन्, गौ हत्यारालाई कारबाहीको माग गरेका छन् । उनीहरूको विरोधका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

धरानमा प्रदर्शनका लागि हिँडेका धर्मगुरु लक्ष्मीप्रसाद खतिवडाले संविधानले दिएको अधिकार प्रयोग गर्न राज्यले वञ्चित गर्नु दुःखद भएको बताउनुभयो । उहाँले गौ हत्या विरुद्ध आयोजित सभा बिथोलेर सरकारले हिन्दु धर्ममाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो ।

धरानमा केही दिन अघि गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसको विरोधमा हिन्दु धर्मावलम्बीहरूले सोही स्थानमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए । 

प्रदर्शनका क्रममा हुन सक्ने अप्रिय क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । 

धरान नगरपालिकाभरि कुनै पनि जुलुस तथा सभा गर्न प्रशासनले रोक लगाएको छ । 

 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १२ : ४८ बजे