मन्थली विमानस्थलमा पानी पस्यो

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । 

मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रवार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो । अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ ।

शुक्रवार बिहान सोही विद्यालयको दुई वटा शौचालय बगाएको थियो । यद्यपि बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन् । 

मेलम्ची–भोताङ सडक खण्डस्थित मेलम्ची बजार पारीको बाटोसँगै मेलम्ची नवलपुर सडक खण्ड सडक पनि सञ्चालनमा आएको मेलम्ची वडा नम्बर १० का वडाध्यक्ष अमृत खनालले जानकारी दिनुभयो । मेलम्ची–तालामाराङअन्तर्गत सिमखेतमा जमेको लेदो पन्छाएसँगै यातायात आवतजावत हुन थालेको छ । 

मेलम्ची–४ स्थित पिप्ले–पाटी भञ्ज्याङ बाटो सञ्चालनमा आए पनि जोखिम कायमै रहेको स्थानीयले बताएका छन् । पहिरोले मेलम्ची नगरका आधा दर्जन घर जोखिममा छन् । आवश्यक सतर्कता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेसन लाइनको पोल ढलेको छ भने ठाउँ ठाउँमा विद्युत् अवरुद्ध भएको छ । 

पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्य मार्ग पहिरोको कारण अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार खाल्डे खोलामा पहिरो गएपछि वैकल्पिक माध्यमबाट यात्रुलाई सहज बनाइएको छ । 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार जिल्लाको अधिकांश ठाउँमा बाढी र पहिरो जाने क्रम बढी रहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : ०८ बजे