‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एचआइडिसिएलले चार जलविद्युत् आयोजनामा १३ अर्ब ऋण लगानी गर्ने

काठमाडौँ । हाइड्रोइलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चार वटा जलविद्युत् आयोजनामा रु १३ अर्ब लगानी गर्ने भएको छ । 

शुक्रवार एक औपचारिक कार्यक्रमबीच दुई वटा सार्वजनिक र दुई वटा निजी क्षेत्रका जलविद्युत् आयोजनासँग ऋण लगानी गर्नेसम्बन्धी समझदारी पत्र आदान–प्रदान भएको हो ।

एचआइडिसिएलले निजी क्षेत्रतर्फ तमोर इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको दुई सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनामा रु चार अर्ब र सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ५६ मेगावाट उत्पादन क्षमताको सानिमा जुम जलविद्युत् आयोजनामा रु दुई अर्ब ऋण लगानी गर्ने भएको छ । 

त्यस्तै, सार्वजनिक क्षेत्रतर्फ जगदुल्ला हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको एक सय छ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा रु चार अर्ब र मोदी जलविद्युत् कम्पनीले प्रवर्द्धन गरेको ४२ मेगावाट उत्पादन क्षमताको माथिल्लो मोदी–ए जलविद्युत् आयोजनामा रु तीन अर्ब लगानी गर्ने सहमति भएको छ ।

ताप्लेजुङ जिल्लामा बन्न लागेको अपर तमोर जलविद्युत् आयोजनाको कूल लागत रु ५५ अर्ब १५ करोड अनुमान गरिएको छ । यसमा रु चार अर्ब एचआइडिसिएलले लगानी गर्नेछ । 

त्यस्तै, डोल्पा जिल्लामा बन्ने जगदुल्ला अर्धजलाशययुक्त आयोजनाको कूल लाख रु २२ अर्ब ७८ करोड अनुमान गरिएकोमा एचआइडिसिएलले रु चार अर्ब लगानी गर्न लागेको हो । 

दोलखामा बन्न लागेको सानिमा जुम जलविद्युत् आयोजनाको कूल लागत रु ११ अर्ब ६० करोड अनुमान गरिएको छ । यो आयोजनालाई एचआइडिसिएलले रु दुई अर्ब ऋण दिएको छ । 

त्यस्तै, कास्की जिल्लामा बन्ने माथिल्लो मोदी–ए जलविद्युत् आयोजनाको लागत रु १० अर्ब आठ करोड बराबर अनुमान गरिएकोमा रु तीन अर्ब बराबर ऋण एचआइडिसिएलको रहेको छ ।

सरकार तथा सरकारी स्वामित्वका कम्पनीको ८० प्रतिशत र २० प्रतिशत सर्वसाधारणको लगानी रहेको एचआइडिसिएलले गत आर्थिक वर्ष २०७९र८० मा बह्मयानी जलविद्युत् आयोजनामा रु ५० करोड, सुपर मादी जलविद्युत् आयोजनामा रु ९१ करोड आठ लाख र सीबाखोला जलविद्युत् आयोजनामा रु १० करोड ऋण लगानी गरेको छ । त्यसअघि एचआइडिसिएलले दोर्दीखोला, न्यादी, त्रिशूली–३ बी, सोलुखोला दूधकोशी र तल्लो लिखु जलविद्युत् आयोजनालगायतमा ऋण लगानी गरिसकेको छ । 

हालसम्म एचआइडिसिएलबाट लगानी भएका जम्मा आयोजनाको सङ्ख्या १९ वटा छ । निजी र सार्वजनिक क्षेत्रका यी आयोजनाको विद्युत् उत्पादन क्षमता एक हजार चार सय ६७ मेघावाट बराबर रहेकोमा एचआइडिसिएलको लगानी २१ दशमलव २१ प्रतिशत रहेको जनाइएको छ । 

त्यस्तै, नौ सय दुई मेगावाट उत्पादन क्षमता बराबरका १२ वटा आयोजनामा शेयर लगानी रहेको पनि एचआइडिसिएलले जनाएको छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ७ : ०२ बजे