दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ग्रीसमा नेपालीबाट नेपाली नै अपहरित,२१ लाख फिरौती बुझेपछि काठमाडौंबाट चार जना पक्राउ

काठमाडौं । रोजगारीको सिलसिलामा सर्बिया हुँदै ग्रीस पुगेका नेपाली नागरिकलाई अपहरणपछि बन्धक बनाएर फिरौती लिने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार नेपाली नागरिक छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार मोरङको रंगेली–२ की २५ वर्षीया सबित्रा थापा, उदयपुरको त्रियुगा–३ का कृष्ण कार्की र काभ्रेको नमोबुद्ध–१ मथुरापाटीका राजन सत्याल गत जेठमा वैदेशिक रोजगारीका लागि भन्दै सर्बिया पुगेका थिए । एकसाथ सर्बिया पुगेका उनीहरु त्यहाँ चित्तबुझ्दो काम नपाएपछि लुकिछिपी ग्रीस छिरेका थिए ।

ग्रीसमा उनीहरुले ‘हिन्दी बोल्ने, पाकिस्तानी’ व्यक्तिलाई भेटे । पाकिस्तानी नागरिक भनिएका ती व्यक्ति र उनका सहयोगी समेतले मिलेर साबित्रा, कृष्ण र राजनलाई अपहरण गरेर बन्धक बनाएको बताइएको छ । ग्रीसमा बन्धक बनाइएका उनीहरुलाई ज्यान गोगाउने भए घरबाट पैसा मगाउन भनियो । ह्वाट्सएपमार्फत् उनीहरुका परिवारका व्यक्तिलाई फोन गरेर प्रतिव्यक्ति १५ हजार युरोका दरले फिरौती रकम पठाउन भनियो ।

रोजगारीका लागि विदेश गएका छोराछोरी अपहरणमा परेको र घरबाट फिरौती रकम पठाउन भनेर धम्की आएपछि उनीहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी गरे । पीडित व्यक्तिका परिवारबाट दिइएको उजुरीका आधारमा अनुसन्धान गर्दा सीआईबीले ग्रीसका अपहरणकारीका एजेन्टहरु नेपालमा रहेको पत्ता लगायो । साथै ग्रीसमा अपहरणमा परेका व्यक्तिहरुको समेत सीआईबीले उद्धार गर्‍यो ।

ग्रीसमा नेपाली अपहरण गरी नेपालमा फिरौती माग गर्ने गिरोहका ४ जनालाई भदौ २ गते काठमाडौंबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–५ घर भएका शिवराज कुँवर, काठमाडौंको तार्केश्वर नगरपालिका–५ कमालटार घर भएका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुको शिवराज नगरपालिका–१ घर भइ वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका प्रकाश बेलबासे र पर्वतको फलेवास नगरपालिका–१ शंखरपोखरी घर भएका ४२ वर्षीय दिलबहादुर थापा छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुमध्ये केही काठमाडौंको गौरीघाटमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरुको कोठामा छापा मारी फिरौती बापत उठाएको २१ लाख ७५ हजार रुपैयाँ समेत बरामद भएको सीआईबीले जानकारी दिएको छ । पक्राउ परेकाहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप लिएर अनुसन्धान अगाडि बढाइएको सीआईबीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : १३ बजे