गाउँपालिका अध्यक्ष जुवाखालबाट पक्राउ

कास्की । पोखराको होटलमा जुवाखालबाट पक्राउ परेका मध्ये एकजना गाउँपालिका अध्यक्ष नै भएको खुलेको छ ।

बिहीबार साँझ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेका बेला पक्राउ परेका जुवाडेको टोलीमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन पनि रहेको खुलेको हो ।

लालचनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । लालचन गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

यसैगरी, पक्राउ पर्नेहरुमा होटल सञ्चालक मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर हिराचन, नविनप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र दलबहादुर हिराचन रहेका छन् ।

उनीहरुलाई आज म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ११ : १९ बजे