भक्तपुर बाल सुधार गृहका दोषीलाई कानुनी दायरमा ल्याउन आग्रह

काठमाडौँ ।  राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवं जीवनको अधिकारप्रति संवेदनशील हुँदै भक्तपुर बाल सुधार गृहको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगले बाल सुधार गृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र त्यस प्रकारका घटना पुनः दोहोरिन नदिन सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरेको छ । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले  जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो ।

भक्तपुरको मध्यपुरस्थित बाल सुधार गृहभित्र यही भदौ ३ गते रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर बाल सुधार गृहमा तोडफोड भएको र सुधार गृहबाट बालबालिका बाहिर निस्केका थिए । उक्त घटनाका बारेमा आयोगले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा आयोगले बाल सुधार गृहमा रहेका बालबालिका, बाल सुधार गृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यसँग प्रत्यक्ष भेटी जानकारी लिनुका साथै बाल सुधार गृह परिसरको अवलोकन गरेको जनाइएको छ ।

बाल सुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवं सुधारगृहका कमान्डरले आवश्यक समन्वय गर्न नसकेकाले सामान्य बिरामी परेका निज कमलको उपचार अभावमा मृत्यु भएको भन्दै बालबालिकाले विरोध गरेका थिए ।

बाल सुधारगृहका बालकको समूहले यही भदौ ४ गते ढुङ्गा मुढा तथा तोडफोड गरी सुधारगृृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै १० जना सम्पर्कमा आउन बाँकी रहेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ । 

आयोगले कमल बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान प्रारम्भ गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ०६ बजे