दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

वरिष्ठ सई ‘हत्या’का आरोपी आमाछोरा पुर्पक्षका लागि कारागार चलान

गलकोट ।  बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिनुभयो । 

कुँवरको होटलमा खाजा खान जानुभएका वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेल गत साउन ८ गते राति होटलमै मृत फेला पुर्नुभएको थियो । होटलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले  होटल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटल एन्ड खाजाघरमा जानुभएको र होटलमा सञ्चालक आशा कुँवरसँग विवाद भएपछि आमाछोराले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । विवादका क्रममा आमाछोरा मिलेर पौडेललाई गम्भीर तरिकाले कुटपिट गरी सलले पासो लगाएर हत्या गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको उहाँले बताउनुभयो ।

पौडेलले घाँटीमा लगाएको सुनको सिक्रीसमेत लुटेर लुकाएको अनुसन्धानबाट खुल्न आएको छ । पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटलको भान्छामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ७ : २५ बजे