नेपालगञ्ज नाकाबाट सबैभन्दा धेरै डिजेल आयात 

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले एक वर्षमा डिजेल आयातबाट सबैभन्दा धेरै राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९८० मा डिजेल आयातबाट ६ अर्ब ९७ करोड २ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार अधिकृत समेत रहनुभएका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त अवधिमा १ लाख ३९ हजार ४ सय किलोलिटर डिजेल भित्रिएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

डिजेलपछि आयात धेरै हुनेमा चामल रहेको छ । गत आर्थिक बर्षमा भारतबाट ४ अर्ब ७३ करोड ६० लाख १० हजार मूल्यको ६ करोड १८ लाख ७९ हजार ९ सय ४० किलोग्राम चामल आयात भएको छ । चामल आयातबाट गएको बर्ष ५४ करोड ८८ लाख ९ हजार रुपैयाँ राजश्व संकलन भएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

यस्तै ४ अर्ब ६५ करोड ६५ लाख ६ हजार रुपैयाँको खाना पकाउने ग्यास नेपालगञ्ज नाकाबाट भित्रिएको थियो । एलपी ग्याँसबाट ८६ करोड ८५ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी नेपालगञ्ज नाकाबाट ४ अर्ब ६३ करोड ७० लाख ६६ हजार रुपैयाँको ४७ हजार ३ सय ३२ किलोलिटर पेट्रोल आयात भएको थियो । पेट्रोलबाट २ अर्ब ६९ करोड ९५ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  १ : ४८ बजे