बारा बस दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोक राजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । 

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डिएसपी न्यौपानेले बताउनुभयो । 

बाँकी चार जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन् । उनीहरू पशुपतिनाथको दर्शन गरी फर्किँदै थिए ।  

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ९ : १९ बजे