सुदूरपश्चिम प्रदेशमा भोली र पर्सि भदौ ७ र ८ गते सार्वजनिक बिदा 

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भोली  भदौ ७ र  पर्सि भदौ ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले  प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।  

गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ । यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान् शिवशङ्करको उपासना गरिन्छ ।

पौराणिककालमा हिमालयपुत्री गौरीले कठोर व्रत बसेर भगवान् शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागी निराहार व्रत बस्ने गर्दछन् । उनीहरूले पाच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौराघर वा गौरा मन्दिर भित्राएर पुजा अर्चना गरी सेलाउने प्रचलन रहेको छ । त्यसैदिन विरुडालाई गौरादेवीको प्रसादका रूपमा बाँडेर खाने गरिन्छ । गौरा पर्वमा दैवी गाथा गाउने गरिन्छ भने देउडा खेलेर मनोरञ्जन गर्ने सामाजिक परम्परा रहेको छ । गौरा पर्वका अवसरमा कतिपय ठाउँमा मेला समेत लाग्ने गर्दछ ।

पछिल्ला वर्षमा गौरा पर्वका दिन सुदूरपश्चिमवासीले काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा गौरा पर्व मनाउँदै आएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ४ : ३३ बजे