दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ग्रिनक्रस हस्पिटल प्रकरणः डाक्टर कर्णले यसअघि नै बेच्थे १० लाख रूपैयाँमा नवजात शिशु

विराटनगर ।  विराटनगरका एक चिकित्सकले अविवाहित जोडीहरूबाट जन्मिने नवजात शिशुहरूलाई बिक्री गर्ने धन्दा चलाएको रहस्य खुलेको छ ।

कोशी अस्पतालमा पूर्व मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. तपेश्वरलाल कर्णले १० वर्षदेखि यस्तो धन्दा चलाउँदै आएको केहिदिन अघिमात्रै सार्वजनिक भएको घटनाले पुष्टि गरेको हो ।

हाल विराटनगर–९ मा ग्रिनक्रस हस्पिटल नामको अस्पताल संचालक रहेका ६८ वर्षीय डा.कर्णले अविवाहित जोडीबाट इच्छाविपरित जन्म हुने शिशुहरू अस्पतालभित्रकै स्वास्थ्यकर्मीहरू समेत संलग्न गराएर निसन्तान दम्पतीहरूलाई लाखौं रुपैयाँमा बिक्री गरेको पाइएको हो । 

पछिल्लो पटक पाँच लाख रुपैयाँ शिशु बिक्री गर्ने कार्यमा संलग्नता देखिएका डा.कर्णसहित नवजात शिशु खरिद गर्ने दम्पति, अस्पतालका स्वास्थ्यकर्मीसमेतलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिशु खरिद गर्ने मोरङकै कटहरी गाउँपालिका–२ की ४६ वर्षीया दिलमाया राजबंशी र उनका छोरा ३० वर्षीय सुर्यनारायण राजवंशी, ग्रिनक्रस अस्पतालकी नर्स ३३ वर्षीया सुधा राजवंशी र कार्यालय सहयोगी सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया निर्मला यादव रहेका छन् । 

विवाह भएको एक दशक बितिसक्दा पनि छोरा सूर्यनारायण र बुहारीबाट सन्तान नभएपछि दिलमायाले नर्स सुधा राजवंशीमार्फत सात लाख रुपैयाँ खर्च गरेर शिशु खरिद गरेको अनुसन्धानका क्रममा खुलेको जनाइएको छ ।

सात लाख रुपैयाँमध्ये दुई लाख रुपैयाँ शिशुको उपचारमा खर्च भएको र पाँच लाख रुपैयाँ भने डा.कर्णलाई बुझाएको दिलमायाले प्रहरीसमक्ष बताएकी छन् ।

खरिद गरेपछि शिशुको थप उपचारका लागि विराटनगर–२ स्थित विराट नर्सिङ होममा दुई लाख रुपैयाँ खर्च गर्नुपरेको उनले बताएकी हुन् ।

ग्रिनक्रस हस्पिटलमा २६ वर्षीया युवतीले  उनको प्रेमी भनिएका भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईसँगको शारिरीक सम्पर्कबाट गत असार १४ गतेका दिन जन्माएको शिशुलाई सोही दिन डा.कर्णले बिक्री गरेको जनाइएको छ ।

प्रहरीका अनुसार गोविन्दले प्रेम विवाह गर्ने आश्वासन देखाएर युवतीसँग सम्बन्ध कायम गरेको र युवती गर्भवती भएपछि बच्चा जन्माउने भनेर असार १३ गते अस्पतालमा भर्ना गरेका थिए । गोविन्दले युवतीलाई सुरुमा डा.कर्णले नै हेर्ने ग्रीनक्रस अस्पताल नजिकैको दिपेश मेडिकल क्लिनिकमा लगेर पछि अस्पतालमा भर्ना गरेका थिए  ।

क्लिनिकबाट अस्पताल भर्ना गर्दा सुनसरीको रामधुनी नगरपालिका–११ ठेगाना उल्लेख गरेर गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको नाम फुलकुमारी तामाङ भनि परिचयसमेत लुकाको पाइएको प्रहरीले जनाएको छ ।

डा.कर्णले युवतीलाई सुत्केरी व्यथा लाग्ने औषधि खुवाएको र युवतीबाट शिशु नर्मल डेलिभरी भएपछि उनलाई शिशु बिनै डिस्चार्ज गरेर पठाइएको प्रहरीले अनुसन्धानमा उल्लेख छ । गोविन्दले युवतीलाई इटहरीमा लगेर होटलमा राखेर हिँडेपछि आफु अलपत्र परेपछि बच्चाको खोजी गर्दै प्रहरीको पुगेकी थिइन् । 

आफुले जिवितै बच्चा जन्माएको भन्दै उनले बच्चाको खोजी गर्न सुरु गरेपछि घटना सार्वजनिक भएको थियो । युवतीले बच्चाको खोजी गर्ने क्रममा साउन ३२ गते जिल्ला प्रहरी कार्यालय मोरङमा गोविन्दविरुद्ध किटानी जाहेरीसमेत दिएकी थिइन् ।  

डा. कर्णले युवतीको पेटमा ९ महिना लागेर जन्मिएको शिशु अभिभावकलाई बुझाइ सकिएको प्रारम्भिक अनुसन्धानमा प्रहरीलाई बताएका थिए । घटना बाहिरिएपछि शुक्रबार नै पक्राउ परेका गोविन्दले आफु फस्ने अवस्था देखेर बच्चा आफूहरूसँग नरहेको जानकारी गराएका थिए । 

प्रहरीले गोविन्दसहित पक्राउ परेका डा. कर्णविरुद्ध ‘व्यक्ति बेपत्ता बनाएको कसुरमा’ आइतबार नै जिल्ला अदालत मोरङमा पाँच दिनको म्याद थपेर  विस्तृत अनुसन्धान गरिरहेको छ । पक्राउ परेका कर्ण भने बिरामी परेको बहाना गरेर कोशी अस्पतालमा भर्ना भएका छन् । 

नवजात शिशु खरिद गर्ने व्यक्ति र बेच्ने डाक्टरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  डा. कर्णले यसअघि पनि नवजात शिशुहरू बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको  प्रहरी अधिकारीहरु बताउछन् ।प्रहरीले यस विषयमा सुक्ष्मढँगले अनुसन्धान  गरिएको जनाएको छ । 
डा।कर्णले विगतमा पनि लाखौं रुपैयाँ लिएर निःसन्तान दम्पतीलाई शिशुहरू बिक्री गर्ने गरेको अस्पताल सम्वद्ध पूर्वस्वास्थ्यकर्मी स्रोतले जनायो  ।

अवैध सम्बन्धबाट गर्भ रहने जोडीलाई सकेसम्म गर्भपतन गराउने र गर्भपतन गराउन नमिल्ने अवस्था भएमा आपसी सहमति गरेर त्यस्ता जोडीबाट जन्मिने शिशु कर्णकै योजनामा एक दशकदेखि विभिन्न व्यक्तिहरूलाई बिक्री गरेको आरोप छ । उनीमाथि अनुसन्धान गरिरहेको प्रहरी स्रोतका अनुसार कर्णले यसअघि पनि ८ देखि १० लाख रुपैयाँसम्ममा नवजात शिशुहरू बिक्री गर्ने गरेका थिए ।

यसैबीच पछिल्लो पटक डा. कर्णले बिक्री गरेको नवजात शिशुको प्रहरीले उद्दार गरेको छ । प्रहरीले शिशु खरिद गर्ने राजवंशी परिवारलाई पक्राउ गरेसँगै शिशुको पनि उद्दार गरेको हो  ।

बेचिएको भनिएको शिशुलाई मंगलबार साँझ कटहरी गाउँपालिका–२ मा फेला पारी सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पैसाको लेनदेन गरी शिशु किनबेच भएको पाइएकोले उद्दार गरिएको प्रहरीले जनाएको छ  ।

उद्दार गरिएको शिशुलाई हाल जिल्ला प्रहरी कार्यालयभित्रै रहेको बाल निगरानी कक्षमा राखिएको छ । प्रहरीले  शिशुलाई वास्तविक आमा भनिएकी युवतिलाई जिम्मा लगाउने प्रक्रियाका बारेमा आवश्यक कानुनी प्रक्रियाको तयारी भइरहेको जनाएको छ ।

‘जसले पाल्नु भएको थियो उहाँकै (दिलमाया राजवंशी) जिम्मामा बाल निगरानी कक्षमा राखिएको छ, हामीसँग भित्रै बालमैत्री रुममा रहेकोले अहिले सँगै राखिएको हो’   जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताउनुभयो । प्रवक्ता दाहालले अहिले सँगै राखिएपछि हामीले वास्तविक आमा भनिएको पक्षलाई कसरी जिम्मा दिने भन्ने बिषयमा तयारी गरिरहेको बताउनुभयो ।
 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १ : ३६ बजे