सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अर्घाखाँची भूमिका स्थान नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेका छन् । 

केसीलाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कठायत जानकारी दिनुभयो । 

उहाँका अनुसार फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको भनी रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरेको र यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्बिरमा अश्लील र अपमानजनक शब्द प्रयोग गरी चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्युरोले पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएको प्रहरीको दाबी छ । 

पक्राउ परेका केसी उपर विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ०७ बजे