नेपालको राजनीतिमा प्रचण्डको उपस्थितिले हिजोदेखि आजका मितिसम्म देशले दुःख मात्र पाइरहेको छ र दुःख पाउने क्रम रोकिएको छैन । तर यतिको दुःख पाउँदा पनि हामी अझै प्रचण्डलाई चिन्न र चिनाउन सकिरहेका छैनौँ । उति बेला द्वन्द्वकालमा प्रचण्डलाई बलियो बनाउन र देखाउन मुख्य भूमिका खेल्ने शक्ति यति बेला प्रचण्डलाई सत्तामा टिकाउनका लागि लगानी गरिरहेको छ ।
पहिले प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध नामको चन्दा आतङ्क, हत्याहिंसा र ध्वंसको राजनीतिले होस् कि अहिले प्रचण्डको नेतृत्वमा चलेको सरकार अनि काण्डहरूले देशको होइन परदेशको स्वार्थमा काम गरिरहेको छ । तर यो यथार्थ न त्यति बेला जनतालाई भनियो न त यति बेला भन्ने काम भइरहेको छ । परिणामस्वरूप प्रधानमन्त्री प्रचण्डले आफूलाई मनमोजी ढङ्गले प्रस्तुत गर्ने अवसर पाइरहेका छन् ।
जनताले सही सूचना पाउने हकलाई सञ्चार माध्यमहरूले सम्मान गरेर सही सूचना, विश्लेषण र संवादहरू सम्प्रेषण गर्ने चासो नदेखाउँदा जनता गलत सूचनाबाट भ्रमित भई भावनात्मक रूपमा भड्किने वातावरण बन्दै छ । हिजो आज कतिसम्म भएको छ भने सञ्चार माध्यममा चल्ने कार्यक्रमले एउटा सन्देश दिन खोजेको देखिन्छ तर प्रश्नहरूले अर्को । यो खालको विरोधाभाषले समाजमा नकारात्मकता बढाउने काम गरिरहेको छ । जस्तै: “कार्यक्रम अँध्यारोबाट उज्यालोतिर चलाउने तर प्रश्नको मकसद भने अध्याँरोतिर डोर्याउने भएपछि सामान्य जनमन भ्रमित हुन्छ नै । सञ्चार माध्यम र सञ्चारकर्मीहरूलाई स्वतन्त्र र निष्पक्ष हुन मन नलाग्ने तत्त्वहरू के के होलान् ? अहिले त “टिभी टल्क शो”का लागि पनि त्यस्तै पात्रहरू रोजिन्छन् । किन होला ?” उत्तर खोज्न ढिला भइरहेको छ ।
सञ्चार माध्यमहरू स्वतन्त्र र निष्पक्ष नहुँदा अनि सामाजिक सञ्जालले स्वछन्दता र अराजकताको पक्षपोषण गर्दा हिजोआज नेपालको राजनीतिमा विचार, चरित्र र नैतिकहीन पात्र र प्रवृत्तिले आफूलाई सर्वश्रेष्ठ हुँ भन्ने अवसर पाएको छ । फेरि यही बीचमा नेपालको राजनीति अस्थिर बनाउन र नेपालमा नियन्त्रित अस्थिरता बढाउन मुमाराम खनालदेखि पुरञ्जन आचार्यहरू जस्ता विश्लेषकहरू सक्रिय भएका छन् । हिजो तिनै खनाल प्रचण्डलाई महान भन्थे आज देशको समस्या भन्दैछन् अनि पुरञ्जन आचार्य शेरबहादुर देउवा र नवउदारवादको राम्रो भन्थे तर आज देउवा मात्रै खराब भन्दैछन् । यी दुई पात्रहरू त प्रतिनिधिमूलक मात्र हुन् । आज खनाल र आचार्य जस्ता पात्रहरूलाई नेपालको वामपन्थी आन्दोलन बदनाम बनाउने र कमजोर देखाउने लक्ष्यका साथ प्रयोग गरिँदै छ ।
अहिले त नवउदारवाद र उपयोगितावादको फ्युजनबाट अर्को वाद कम्फर्टेबलवाद जन्मिएको छ । कम्फर्टेबलवादको सहउत्वादनको रूपमा भ्रमपूर्ण सस्तो लोकप्रियतावाद देखिएको छ । कम्फर्टेबलवाद र लोकप्रियतावादको फ्युजन भएर भोलि जङ्कवाद जन्मिँदै छ। हामीले बुझ्नुपर्छ, “जसरी जंक फुड मानव स्वास्थ्यका लागि हानिकारक छ, त्यसरी नै जंकवादी राजनीति राष्ट्रिय स्वाभिमान र प्रगतिशील राजनीतिका लागि हानिकारक हुनेछ । त्यस्तै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा आएका जंक विचार र विश्लेषणहरूले जनमनोविज्ञान अझ बढी नकारात्मक, स्वछन्द र अराजक बनाउने छ ।”
नेपालको राजनीतिमा पछिल्लो समय जसरी विचार केही पनि होइन, व्यवहारवाद ठुलो हो भन्ने फण्डावाला राजनीतिले प्राथमिकता पाइरहेको छ, त्यसले देशमा जंकवादी दृष्टिकोण हाबी हुँदै छ सङ्केत गर्छ । जसरी म्युजिक भिडियो तथा चलचित्रमा छोटो समयमा धेरै प्रकृति, आकृति र संस्कृति देखाएर दर्शकलाई केही बेर भए पनि रमाइलो महसुस गराउँछ, त्यसरी र त्यही शैलीमा राजनीति गर्नेहरूको सङ्ख्या नेपालमा बढ्दै छ । यो खालको राजनीति गर्नेहरू न विचारबाट निर्देशित हुन्छन् न त संस्कार र देशको स्वार्थबाट नै। त्यसैले जंकवादी राजनीति काण्ड र फण्डामा रमाएको र त्यसले नै वाहवाही कमाएको छ । तर यो खालको काण्ड, फण्डा र वाहववाहीवाला राजनीति भने देश र जनताका लागि अभिशाप बन्दै छ वा हुनेछ ।
राजनीतिमा नीति र विचार सधैँ प्रधान हुन्छ भने देश र जनता सधैँ केन्द्रमा हुनुपर्छ। तर हिजोआज नीति र विचार केही पनि होइन, व्यक्तिको निकट विगतसँग सरोकार छैन भन्दै जंकवादी राजनीति गरेर जनतालाई झुक्याएर देशलाई अस्थिर बनाउन खोजिँदै छ । यस्तो विचारहीन अवसरवादी राजनीतिलाई लिएर वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई लेख्छन्, “इतिहासको अविरल प्रवाह र कठिनाइपूर्ण सङ्घर्षबाट जन्मेका, हुर्केका र दीक्षित भएका परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरूले मात्र मुलुकको लोकतन्त्र र संवैधानिक अभ्यास अगाडि बढाउँदै संविधानले परिकल्पना गरेको समाजवादको यात्रालाई नेतृत्व दिन सक्छन् ।”
यति बेला “प्रधानमन्त्री प्रचण्डलाई लागेको छ, अरू पार्टीका दुईचार नेतालाई बदनाम गराएपछि सत्ताको आयु बढाउन र आफ्नो पार्टीको अस्तित्व जोगाउन सकिन्छ । अनि पार्टीमा आफ्नो मुखियाको अस्तित्व जोगाउन भने आफ्नै पार्टीका केही नेतालाई आलोक अर्थात् यानप्रसाद गौतम बनाउनुपर्छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई लागेको छ, नयाँ–नयाँ फण्डा गरेर लोकप्रियता बढ्छ र राजनेता भइन्छ ।” तर प्रचण्ड र रवीहरू जङ्कवादतर्फ उन्मुख छन् र त्यहीअनुसार गतिविधिहरू गर्दैछन् । जसलाई आमजनताले सही ढङ्गमा चिन्न सकिरहेका छैनन् । यो चिनाउनुपर्ने दायित्वबाट राजनीतिक विश्लेषकहरू पन्छिरहेका छन् किनभने उनीहरू उपप्राध्यापक चलाउने भइन्छ कि भन्ने भएमा देखिन्छन् ।
त्यसैले यतिखेर नेपालको राजनीतिमा देखिएका तमाम विकृतिहरूलाई हटाउन र वैचारिक दृष्टिकोणबाट निर्देशित राजनीतिलाई बलियो बनाउन हामीले इमानदार भएर खराबलाई खराब अनि ठिकलाई ठिक भन्न सक्नुपर्छ अनि ठिक समयमा ठिक निर्णय गर्ने क्षमता देखाउनुपर्छ । तर कसरी ? यो प्रश्नको उत्तर खोज्नुभन्दा अघि नेपालको राजनीतिमा देखिएका मुख्य वैचारिक धारहरूलाई चिन्न सक्नुपर्छ । आज हाम्रो राजनीतिमा मुख्य दुई धारहरू देखिएका छन् ।
पहिलो धार: नवउदारवाद अर्थात् दलाल पुँजीवाद – यो धारको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ र माझण्ड (माधव, झलनाथ र प्रचण्ड)हरूले काँग्रेसलाई सघाइरहेका छन् । साथै रास्वपाले पनि यो धारको नेतृत्वको दाबी गरिरहेको छ ।
दोस्रो: परिपूर्ण लोकतन्त्रवाद अर्थात् प्रगतिशील लोकतन्त्र – यो धारको नेतृत्व जनताको बहुदलीय जनावादमार्फत नेकपा एमालेले गर्दैछ ।
तर नयाँ दलहरूले कुन धारको पक्ष पोषण गर्छन् भनेर उत्तर खोज्नुभन्दा पहिला यी दलहरूको निर्माण कुन आधारमा भयो भनेर उत्तर खोज्नुपर्छ । वास्तवमा नवउदारवाद र परिपूर्ण लोकतान्त्रिक धारको टकराबमा रवी, सिके र रेशमहरू देखिएका हुन्। जब मूल धारका दलहरूले ठिक बाटोमा गति लिन थाल्छन्, तब नयाँहरू सकिन्छन् ।
यति बेला पहिलो धारलाई बलियो बनाउन बाह्य शक्तिहरूले विशेष चासोका साथ लगानी गरिरहेका छन् । पछिल्लो समय इण्डो प्यासिफिक रणनीतिअन्तर्गत नेपाल भइरहेको र हुन खोजेको लगानीको मुख्य उद्देश्य पनि नेपालमा दोस्रो राजनीतिक धारलाई कमजोर बनाउने र पहिलो धारलाई बलियो बनाएर सत्तामा पुर्याएर आफ्नो स्वार्थअनुकुल नीति बनाउने र निर्णय गराउने नै हो । त्यसको पछिल्लो उदाहरणका रूपमा जनताको व्यापक विरोधका बाबजुद पनि एमसीसी र नागरिकता विधेयकमा पहिलो धारको सक्रियता र आत्मसमर्पणलाई लिन सकिन्छ । यसर्थ: नेपालको राष्ट्रिय स्वाभिमान जोगाउन र देशलाई वैचारिक राजनीतिको जगमा संवृद्ध बनाउन पनि जनताले असल र खराब छुट्याउन र कुन धारको पक्षमा उभिने विवेकसम्मत निर्णय गर्न सक्नुपर्छ ।
“जब वैचारिक राजनीतिले ठिक गति लिन्छ र नेतृत्वहरूले ठिक मतिका साथ चल्छन् तब समाजमा विकृतिहरू हट्न थाल्छन् र भ्रमपूर्ण सस्तो लोकप्रियतावादी र अवसरवादी राजनीतिका जगहरू भत्किन्छन् । जङ्कवाद गर्भ मै तुहिन्छ । यसका साथै तिनका नेतृत्वहरूको असली अनुहार सबैले चिन्छन् । त्यसैले देशको स्वार्थमा वैचारिक राजनीतिको पक्षमा पैरवी गर्न थालौँ ।” बिल रिचर्डसनले भनेका छन्, “सँगै काम नगरी हामीले गर्नुपर्ने सबै काम पूरा गर्न सक्दैनौँ ।” रिचर्डसनको विचारले हामीलाई मिलेर विचारहीनता र विकृतिका विरुद्ध लड्न प्रेरित गरिरहेको छ ।
हामीले बुझ्नुपर्छ, “शिक्षाले नागरिकको चेतना, नागरिकको चेतनाले वैचारिक राजनीति र वैचारिक राजनीतिले देशको नीति असल बनाउन मुख्य भूमिका खेलेको हुन्छ ।” तर यो सत्यलाई स्वीकार गरेर हामीले न शिक्षा राम्रो बनाउन खोज्यौँ न त राजनीति नै । जसले गर्दा नीतिहरूको राजा राजनीति असल बनाउन सकिएन र देशको नीति ठिक भएन । अनि आज जङ्कवादलाई राजनीतिक विचारको रूपमा स्थापित गर्न सजिलो हुँदै छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले योजनाबद्ध रूपमा काण्डमाथि काण्ड हुँदा पनि त्यसलाई स्वाभाविक देखाउन र परिपूर्ण लोकतन्त्र पक्षधर शक्ति अर्थात् जबजलाई बदनाम गराउन सत्ता शक्तिको प्रयोग गरिरहेका छन् ।
जबकि नेपालको राजनीतिमा जबजले भन्छ, गतिशीलता नै प्रगतिको आधार हो । लोकतान्त्रिक बाटोमा प्रतिस्पर्धा गर्दै श्रेष्ठता हासिल गर्नु र राष्ट्रको मौलिकतासँग मिल्ने विचारको निर्माण र परिमार्जन गर्दै अघि बढ्नु जबजको मुख्य सार हो । आज यही विचारलाई कमजोर बनाउन प्रधानमन्त्री प्रचण्डले काण्डहरूको साहारा लिँदै छन् । यस सन्दर्भलाई लिएर आशिष रेग्मी लेख्छन्, “गतिशीलतामा विश्वास नगर्नेहरू, माटो सुहाउँदो विचारको परिमार्जन नस्विकार्नेहरू राजनीतिक मैदानमा आज केवल दर्शका रूपमा सीमित रहेका छन् । नीति र सिद्धान्तको धरातललाई तिरस्कार गरेर राजनीति अघि बढाउन खोज्नेहरू आफ्नो अस्तित्व रक्षाका लागि सम्झौता गर्न बाध्य हुन्छन् ।” आज प्रधानमन्त्री प्रचण्डले गरिरहेको राजनीति नीति र सिद्धान्तको धरातलमा होइन, फण्डा र काण्डको जगमा सत्ता चलाइरहेका छन् ।
प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १० : ४० बजे
प्रतिक्रिया