हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

अवधि समुदायले गुडिया पर्व मनाउँदै

खजुरा (बाँके) । आज साउन शुक्लपक्ष  नागपञ्चमी पर्व ।  पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधि समुदायले नाग  पर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । 

यो पर्व अवधि समुदायको मुख्य पर्वको रूपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल छिमेक सबै मिलेर विशेष धूमधामका साथ सो पर्व मनाउँदछन् । 

गाउँ टोलका विशेष गरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गाबेरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले  घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ । 

यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ । 

यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई  घुघरी पठाउने चलन पनि छ । घुघरीमा चना, चामल, भेली मिठाई, र आवश्यक कपडा लत्तासहितको गठरी सामर्थ्य अनुसार भाइ वा बाबुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिनुभयो । 

यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवायुवती गीतसङ्गीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुईँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधि अगुवा पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । 

उहाँका अनुसार यस दिन सबैको घरमा मिठो मिठो खानेकुरा पकाइने गरिन्छ । यस दिन घरमा पाहुनालाई बोलाइ सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदि कालबाट चलिआएको अगुवा उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ हामी सबै भगवान्लाई देउताको रूपमा मान्ने गर्छौँ । सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बादल, अन्नपात, वन, जङ्गल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न  वस्तुलाई देउता सामान मानिन्छ । सबै देवरुपमा रहेका छन् । यसलाई समय समयमा पूजा गर्नुपर्छ । ”

जाँदुगर (मदारी) ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ । 

स्वास्थ्यको हिसाबले बर्सातको मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरुस्ती कम भएको हुन्छ । त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेडागुडी पोसिलो खान) खाएर शरीरलाई बलियो बनाउने परम्परा रहेको छ । 

अवधिमा उखान छ, ‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गगी पैदा होत है । ’ गुडिया पर्वको धार्मिक सम्बन्ध पनि छ । भगवान कृष्णले नागलाई नाथिनुभएको थियो । उहाँलाई अन्त पठाएपछि जमुना नदीको पानी सफा भएको थियो ।

सर्प सत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ । सर्पलाई दूध र चना खुवाउने गरिन्छ । परापूर्वकालबाट गुडिया र होली पर्व एकै दिन(बार) मा पर्ने गर्दछन् । यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कयम गर्ने पर्वको रूपमा लिइएको छ । अवधीभाषमा उखान छ ‘गुडिया ढुढेंरीमा समधी दमादका ना बोलावा जाय तौ कब बोलावा जाय । ’ रासस

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : ३७ बजे