माथिल्लो मनाङमा हिमपात

सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पुनः बस्दै

काठमाडौँ ।  सदनको अवरोध खुलाउने लगायतका विषयमा छलफल गर्न आज पुनः राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा आइबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि बैठक बोलाइएको हो । बैठक दिउँसो ४ः०० बजे बस्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजित बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याएको थियो । 

सङ्घीय संसद्मा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गर्दै त्यसका आधारमा सदनमा अवरोध भइरहनु देश र जनताको पक्षमा नभएको बताउनुभएको थियो । बैठकमा प्रधानमन्त्रीले राज्यका निकायले गर्ने काममा सबैले साथ र सहयोग गर्नुपर्ने र त्यसलाई प्रभावित पार्ने गरी कुनै पनि अर्को समिति तत्काल आवश्यक नपर्ने बताउनुभएको थियो । 

उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा सहमति हुन नसक्दा आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक समेत स्थगित भएको थियो ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : ३५ बजे