सुनकोशीमा ११ महीनामै खनियो आठ किलोमिटर सुरुङ

सुनकोशी । आयोजना प्रमुख मित्र बरालका अनुसार कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म आठ किलोमिटर निर्माण भएको छ। सुरुङ निर्माणमा ६० प्रतिशत बराबरको भौतिक प्रगति भएको बरालले बताए।

यो आयोजनामा टनेल बोरिङ मशिन (टीबीएम) प्रयोग गरेर सुरुङ खनिएको छ। यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टीबीएमको प्रयोग गरिएको थियो।

पहाडी भूभाग बढी भएको नेपालमा विकास निर्माणको काम अगाडि बढाउन अब टीबीएम प्रभावकारी उपकरणका रूपमा स्थापित भएको छ। यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मशिन प्रयोग गर्न सकिने जनाइएको छ।

सुनकोशी नदीको पानी मरिन खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ शुरू गरिएको आयोजनाको सुरुङ निर्माणमा अपेक्षाभन्दा बढी प्रगति देखिएको छ।

सुनकोशी मरिन डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ। हाल सञ्चालनमा रहेको राजमार्गलाई ९०० मिटर डाइभर्सन गर्नुपर्नेछ।

यस्तै, बाँधस्थल निर्माणका लागि निर्माण व्यवसायी परिचालित भइसकेका छन्। वर्षाका कारण काम भने शुरू हुन सकेको छैन। नदीमा पानीको सतह घटन थालेपछि बाँधस्थल निर्माण शुरू गर्ने तयारीमा आयोजना छ।

यस्तै, विद्युत्‌गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ। प्रसारण लाइन निर्माणका कारण प्रभावित हुने स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न हुने चरणमा छ। यसका लागि निर्माण व्यवसायी परिचालन गर्ने तयारी भइरहेको छ।

गत असोज २८ गतेदेखि आयोजनाको सुरुङ निर्माण शुरू भएको हो। टीबीएमको प्रयोग गरिएकाले सोचेभन्दा राम्रो प्रगति भएको आयोजना प्रमुख बरालले बताए।

गत जेठमा मात्रै आयोजनाको कुल एक हजार २२४ मिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले बताए। चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामुनि सुरुङ निर्माण भइरहेको छ। कडा चट्टानयुक्त क्षेत्र भएकाले काममा सहजता भएको छ।

सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोशी नदीकाे पथान्तरण गरिनेछ। सुनकोशीको करीब ६७ क्युमेक पानीलाई सुरुङ मार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिन खोलामा पानी खसालिनेछ।

त्यसपछि बागमती सिंचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करीब एक लाख २२ हजार हेक्टर जमीनमा सिंचाइ गर्ने लक्ष्य राखिएको छ। त्यस्तै आयोजनाबाट ३१ मेगावाट बराबरको बिजुली समेत उत्पादन हुनेछ।

-रासस

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ५५ बजे