भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर (शुल्क) लगाएको छ । प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो ।

यो शुल्क ३१ डिसेम्बरसम्म लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्याजको निर्यातमा कर लगाइएको उल्लेख छ । भारतका अनुसार त्यहाँ प्याजको मूल्य बढ्न थालेको छ । सोही मूल्यवृद्धि नियन्त्रण गर्न कर बढाइएको जनाइएको छ । प्याज निर्यातमा लाग्ने ४० प्रतिशत कर तत्काल लागू भइसकेको छ ।

नेपालमा धेरैजसो भारतीय प्याजको दबदबा छ । भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य बढ्ने अनुमान गरिएको छ । भारतले यसअघि प्याज निर्यातमा कर लगाएको थिएन । अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा भारतीय प्याजको मूल्य प्रतिकिलो ६१ रुपैयाँसम्म छ । नेपालले पनि चालू वर्षको बजेटमार्फत आलुप्याजमा भ्याट लगाएको छ । व्यवसायीहरुले यसको विरोध गरिरहेको बेला अहिले भारतले नै निर्यातमा कडाइ गरेको छ ।

कालीमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले नेपालमा ९५ प्रतिशत भारतीय प्याजले माग धानिरहेको बेला निर्यातमा कर लगाउँदा उपभोक्ता महँगीमा पर्ने बताए । नेपालले गत आर्थिक वर्ष ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको प्याज भारतबाट आयात गरेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ४० बजे