ठुला पदका प्रहरी आलिसान कार्यालयमा,तल्लो तहका जीर्ण भवनमा

​​​​​​​नवलपरासी ।  आम नागरिकलाई सुरक्षा दिने नेपाल प्रहरी नै आफै असुरक्षित बनेको छ । जीर्ण कार्यालय,आवास र न्यून जनशक्तिका कारण मुलत सीमा नाकामा खटिने प्रहरी आफै असुरक्षित बनेका हुन्  ।

तस्करहरूको ट्रान्जिट पोईन्टको रुपमा रहेको पश्चिम् नवलपरासीको सीमा नाकामा रहेका प्रहरी कार्यालयहरू यति जीर्ण छन् भनिसाध्य छैन ।  जनतालाई सुरक्षा दिने निकाय (प्रहरी)  बस्ने आवास सहितको कार्यालयको अवस्था बिजोग हुँदा पनि सरकारको ध्यान नजानु दुखद छ । सरकारबाट विभिन्न प्रयोजनका लागि विभिन्न नाममा अरबौँ रुपियाँको लगानीमा ठाउँ ठाउँमा उपयोग विहीन भवन बनिरहँदा पनि अत्यावश्यक पर्ने प्रहरी कार्यालयका भवन  जीर्ण भग्नावशेष जस्तै हुँदा पनि नबन्नु उदेक लाग्दो देखिन्छ । 

पश्चिम् नवलपरासीको सीमा नाकामा रहेका अधिकांश प्रहरी कार्यालयहरू मान्छे बस्न लायक छैनन् । कर्तव्य निर्वाह गर्न,सिमामा ज्यानको बाजि लगाएर अवैध तस्करी रोक्न अहोरात्र खटिने प्रहरीको केही कार्यालय भवनहरू त पशु राख्ने गोठ भन्दा  कम छैनन् ।  संवेदनशील मानिएका सीमा नाकामा रहेका कार्यालयहरूमा ९–१० जनाको मात्र दरबन्दी रहेको छ । तस्करहरूको ट्रान्जिट पोईन्टको रुपमा चिनिएको भुजहवा प्रहरी चौकीमा सईको नेतृत्वमा जम्मा ९ जनाको मात्र दरबन्दी रहेको छ भने अपर्झट पर्दा प्रयोग गर्ने साधनको नाममा एउटा थोत्रो बाइक रहेको छ । भुजहवामा रहेको प्रहरी चौकीको भान्सा घर बर्सातको मौसममा चुहेर टिन माथि त्रिपालले छाइएको छ । उनीहरूले प्रयोग गर्ने शौचालयको छत चुहेर बिजोग अवस्थामा छन् ।

 

जिल्लाको भुजहवा,पचपेडा लगायतका कयौँ प्रहरी कार्यालय भवनहरू बर्षौ पुराना रहेका छन् । बर्सातको समयमा कयौँ  प्रहरी कार्यालयहरू छाना चुहिएर सुत्नै नसकिने अवस्थामा रहेका छन्। समस्या जतिसुकै भए पनि प्रहरीका जवानहरू यस विषयमा बोल्नै मान्दैनन् ।  प्रहरी सङ्गठनको चेन अफ कमान्डका विरुद्धमा गएर आफ्ना समस्या सार्वजनिक रुपमा राख्ने हिम्मत कुनै पनि प्रहरी कार्यालयका इन्चार्जहरू सँग छैन । जिल्लाको एक प्रहरी चौकीका इन्चार्ज भन्नुहुन्छ,‘हामी एउटा चौकीमा ९–१० जना मात्र छौ,तस्करले नै हामीमाथि आक्रमण गर्ला कि भन्ने चिन्ताले हामी सिभिलमा एक्लै हिँड्न सक्दैनौ।न भवन बस्न योग्य छ,न शौचालय,भान्सा नै बस्न लायक छ’ ती इन्चार्ज को भनाई छ । ‘बरु कैदी बन्दीको हालत राम्रो होला, सिमामा रहेका कार्यालयका प्रहरीको अवस्था यस्तो छ’उहाँको गुनासो छ ।

जिल्लाका बसहिया प्रहरी चौकी बाहेक अन्य प्रहरी कार्यालय भवनको अवस्था ज्यादै जीर्ण रहेको छ । राज्यको सुरक्षा गर्न बसेका प्रहरीको यो अवस्थाले प्रहरी सङ्गठनलाई मात्र होइन सरकारलाई नै गिज्याइरहेको छ । राजा बिरेन्द्रको ५४ औ जन्मजयन्तिका अवसरमा उद्घाटन गरिएका प्रहरी चौकीहरूको समेत अझै मर्मत हुन सकेको छैन ।केही कार्यालयमा त कम्प्युटर समेत छैन ।

​​​​​​​

‘न तारबार सहितको सुरक्षा छ,न बस्ने लायकको भवन न शुद्ध पिउने पानीको व्यवस्था,न सुत्ने ठाउँको पर्याप्तता न जनशक्ति नै, हाम्रो विषयमा बोलिदिने को ?’ एक प्रहरी कार्यालयका अधिकारीले गुनासो पोख्नु भयो । 

यस विषयमा पश्चिम् नवलपरासी प्रहरीको सेवा सुविधा,आवास र जनशक्तिका विषयमा सम्बन्धित निकाय मौन जस्तै बनेको छ ।तस्करहरू र बिचौलियाको बिगबिगी रहेको जिल्लामा प्रहरी सङ्गठनकै मनोबल उच्च नरहँदा यसले आम नागरिकको सुरक्षा माथि नै गम्भीर प्रश्न खडा गरेको छ  भने अर्का तिर प्रहरी कार्यालय र स्वयम् संघठन नै जनशक्ति अभावमा असुरक्षित बनिरहेको छ  । 

​​​​​​​​​​​​​​

जिल्लामा चौकी सहित २८ वटा प्रहरी कार्यालय रहेको डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कुडिया,नर्सही,अमानीगन्ज,गुठीसुर्यपुरा लगायतका केही प्रहरी कार्यालयहरू जीर्ण रहेका छन् भने सिमामा प्रहरीको जनशक्ति समेत ज्यादै न्यून रहेको छ ।चोरी पैठारीको नियन्त्रणका लागि जनशक्ति अभावमा ज्यादै कठिन भएको छ भने जीर्ण भवनका कारण प्रहरीको दैनिकीमा यसले ठूलो प्रभाव पारेको डिएसपी पाण्डेले बताउनु भयो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ५६ बजे