एमालेले कारबाहीमा परेकाहरूले आत्मलोचना गरे पार्टी सदस्यता नवीकरण गर्ने  (अपानीकाे पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)ले चुनावको बेला बागी र विद्रोही भई कारबाहीमा परेकालाई आत्मआलोचनासहित पार्टी सदस्यता नवीकरण गर्ने भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशन (अपानी)–८ मा कारबाहीमा परेकालाई आत्मआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेको पार्टी सदस्यता नवीकरण गर्ने भनिएको छ । अपानीमा अन्तर्घात गर्ने र पार्टी विरोधी गतिविधिमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने जनाएको छ । 

पार्टीले सार्वजनिक कार्यक्रममा पार्टी र जनसङ्गठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने निर्णय गरेको छ । 

पार्टीले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको अपानीमा जनाइएको छ । 

उम्मेदवारी शुल्क पाँच सय मात्र 
पार्टीले अधिवेशनमा उम्मेदवारी शुल्क अधिकतम रु पाँच सय कायम गर्ने निर्णय गरेको छ । 

अन्तर पार्टी निर्देशनमा हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट प्रतिकूल रहेकाले अधिवेशनमा उम्मेदवारी शुल्क अधिकतम रु पाँच कायम गर्ने निर्णय गरिएको उल्लेख छ । 

पार्टीले विभिन्न पदको उम्मेदवारी शुल्क तोक्दा त्यसको अनुपात यही अधिकतम शुल्कको आधारमा मिलाउन समेत निर्देशित गरेको छ ।

‘फेक एकाउन्ट’ बन्द गराउने पहल
एमालेले पार्टीको नाम, लोगो र झन्डा सामाजिक सञ्जालमा दुरुपयोगको भएको जनाउँदै ‘फेक एकाउन्ट’ बन्द गराउन पहल गर्ने निर्णय गरेको छ । 

“सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झन्डा दुरुपयोग भइरहेको छ । यसले पार्टी पङ्क्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको छ”, अपानीमा भनिएको छ, “सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका ‘फेक एकाउन्ट’ बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिइएको छ ।”

एमालेले भविष्यमा पार्टीमा प्रवेश गर्नेको सम्भावनालाई ध्यानमा राखी कमिटी निर्माण गर्दा कमिटीको अधिकतम सङ्ख्याभन्दा कम गर्ने अपानीमा भनिएको छ । 

एमालेले विगतमा कमिटीमा १० प्रतिशतसम्म मनोनयन गर्न पाउने अधिकारलाई अधिवेशनकै समयमा प्रयोग गर्नेजस्ता गल्ती भएको भन्दै यदि अधिवेशनबाटै कमिटीको मनोनयनका अधिकार प्रयोग गरेमा उक्त निर्णय स्वतः बदर हुने अपानीमा जनाइएको छ । 

छ केन्द्रीय सदस्यबाट बिदा
एमालेले छ जनालाई केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ । 

पार्टीले केन्द्रीय सदस्य केशव स्थापित र प्रमोदनारायण यादव हटाएको छ । पार्टी केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राख्नुभएकाले उहाँलाई केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको अपानीमा उल्लेख गरिएको छ । 

यस्तै स्वास्थ्य लगायतका कारणले चार केन्द्रीय सदस्यलाई हाललाई कामबाट बिदा दिने निर्णय गरिएको छ । यसरी बिदा पाउनेमा केन्द्रीय सदस्य द्वय अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी)रहनुभएको छ । 

यस्तै अपानीमा लामो समयदेखि पार्टीको काममा संलग्न नहुनुभएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने भनिएको छ । 

छ केन्द्रीय सदस्यबाट बिदा (अपानीकाे पूर्णपाठ):

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : १० बजे