दुई सय बढी बंगलादेशी पर्यटक एकै पटक नेपालमा

काठमाडौं । दुई सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् ।

शुक्रवार मध्यान्ह २ सय बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बङ्गलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बङ्गलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि गरेर बङ्गलादेशबाट करिब सात सय पर्यटकहरू नेपाल आउने बताइएको छ । पर्यटकहरूको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बङ्गलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनु भयो । उहाँले पछिल्लो तीन वर्षयता बङ्गलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज र भोलि गरेर बङ्गलादेशको ठुलो टिम नेपाल आउँदै छ । करिब ७ सय जति पर्यटकहरू आउँदै हुनुहुन्छ । उहाँहरू होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई तीन वर्ष यता बङ्गलादेशका पर्यटकहरू बढी रहनुभएको छ ।’

त्यस्तै बङ्गलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताउनु भयो । उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बङ्गलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’

पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  २ : ०९ बजे