सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे बीचको छलफल सकिएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान उहाँहरुबीच सदनको अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।

छलफलमा सभामुख घिमिरेले सदन सञ्चालन हुन नसक्दा प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो बढेको बताउनुभयो। दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति नभएको भन्दै सभामुख घिमिरेले कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गर्न आग्रह गर्नुभयो। 

''समितिको नेतृत्व चयन हुन सकेको छैन । संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो छ ।  सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरू नै घण्टौँ बस्दा पनि सहमति भएन ।'', उहाँले भन्नुभयो । 

छलफलमा प्रधानमन्त्री दाहालले आफूले सदन खुलाउन भूमिका खेल्ने बताउनुहुँदै प्रमुख प्रतिपक्ष दल एमालेसँग थप पहल गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ''म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नै पर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।''

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  १० : ५८ बजे