राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ । लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको हो । 

निर्माणाधीन राजमार्गअन्तर्गत गत साउन ३० गते भैँसेपाटी सडक खण्डमा धुलिखेल नगरपालिका–८ का २१ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । 

यस्तै गत साउन ३१ गते धुलिखेलको बाँसघारी नजिकै मिरावेल चोकमा प्युठान घर भई बनेपामा लघुवित्तमा कार्यरत २७ वर्षीय सुरज गिरीको निधन भएको थियो । दुवै जनाले चलाएका मोटरसाइकल निर्माणाधीन क्षेत्रमा ट्रक र मिनी ट्रकसित ठोक्किएका थिए । 

बिहीबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राजमार्ग विस्तार गर्दा दुर्घटना नहुने किसिमले काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल १५ दशमलव पाँच किलोमिटर सडक खण्ड सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक चार लेन बनाउने काम भइरहेको छ । 

उक्त आयोजनाका इन्जिनियर जङ्गबहादुर महर्जनले सडक दुर्घटना हुन नदिन नियमित अनुगमन गर्न थालिएको बताउनुभयो । “सडकका खाल्डाखुल्डी तत्काल पुर्न, ट्राफिक चिह्नलाई सही स्थानमा राख्न तथा निर्माण सामग्रीलाई सडक अवरोध नहुने गरी राख्न व्यवसायीलाई निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडक खण्ड विस्तार थालिएको हो ।

राजमार्गअन्तर्गत पहिलो चरणमा साँगाबाट धुलिखेलसम्म आठ दशमलव चार किमी सडक खण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडक खण्ड सात दशमलव पाँच किमी विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भई काम सुरु भएको हो । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : २४ बजे