ताप्लेजुङ । गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडक खण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरे खोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ ।
खोक्सेबाट खहरे खोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताउनुभयो । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
“ठाउँ ठाउँमा पहिरो झरेको छ, बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ, सम्भवतः आजै यातायात सञ्चालनमा आउन सक्छ”, उप्रेतीले भन्नुभयो ।
सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् ।
प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ७ : ४९ बजे
प्रतिक्रिया