गोसाईंकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा

रसुवा । रसुवाको गोसाईंकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । 

आगामी भदौ महिनामा लाग्ने गोसाईंकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ ।  

निलाद्रि पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) को समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार सङ्घले औषधिसहित चिकित्सक टोली तयार गरेको हो । 

गोसाईंकुण्ड मेला आगामी भदौ ७ गतेदेखि १४ गतेसम्म लाग्ने छ । 

गोसाईंकुण्ड १४ हजार एक सय फिटको उचाइमा पर्छ ।  भक्तजनलाई उपचार सेवा प्रदान गर्न अक्सिजनसहित छ चिकित्सक तयारी अवस्थामा राखिएको हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले बताउनुभयो ।

उक्त संस्थाका स्वास्थ्य सहायक प्रकाश खत्रीको अगुवाइ एवं प्रत्यक्ष रेखदेखमा उपचार सेवा प्रदान गरिने छ । 

उक्त टोलीमा डा निसान्त जोशी, डा पशुपति पोखरेल, डा श्रीयासी कार्की, डा आयुस्का पन्त, डा कृष्ण कँडेल र स्वास्थ्य प्राविधिक सचेत सुवेदी रहनुभएको छ । 

सङ्घले दुई दशकदेखि कुण्ड क्षेत्रमा गोसाईंकुण्ड क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रसुवासित सहकार्य गरी गोसाइँकुण्डमा विभिन्न सेवा दिँदै आएको छ ।

 “दर्शनार्थीलाई चिकित्सकसहित औषधी, अक्सिजनलगायत सेवा उपलब्ध गराउँदै आएका छौँ”, कार्यकारी निर्देशक बत्स्यालले बताउनुभयो । गोसाईंकुण्ड मेलाको आवश्यक प्रबन्ध मिलाउन विभिन्न उप–समितिसमेत गरिएको छ ।     

गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार १५ हजार भन्दा बढी भक्तजनलाई गोसाइँकुण्डमा सेवा प्रदान गर्ने लक्ष्यका साथ यात्रुको आवश्यक सेवा सुविधाका लागि संस्थाले काम गरिरहेको बताउनुभयो ।      

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १० : २३ बजे