भारतसँग चामल माग्दै सरकार

काठमाडौं । सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेको छ । पछिल्लो समय भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै सरकारले भारतको निर्णयको असर नेपाली बजारमा देखिन सक्ने भन्दै चामल माग गरेको हो । 

उद्योग वाणिज्य, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको बताउनुभयो । उहाका अनुसार  भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो ।

परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगे पनि त्यस विषयमा अहिलेसम्म कुनै जवाफ आइनसकेको मन्त्रालयकी प्रवक्ता राधिका अर्याल बताउनुहुन्छ । 

भारतले ४ साउनमा बासमती बाहेकका सेतो चामलको निर्यात रोक्ने निर्णय गरेको थियो ।
अनौपचारिक कुराकानीमा भारतीय पक्षले नेपालका लागि उक्त प्रतिबन्ध लागू नहुने बताउँदै आए पनि अहिले बजारमा चामलको भाउँ महंगीसकेको छ । 

भारतले निर्यात प्रतिबन्ध घोषणा गरेको १० दिनपछि १४ साउनमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले खाद्यान्नको आपूर्ति सहज बनाउने निर्णय गरेको थियो । 

चिनी भने आन्तरिक उत्पादनबाट माग नधान्ने भएपछि सरकारले भातरबाट ५० हजार टन आयात गर्न लागेको हो । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ३६ बजे