‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

झापामा आयुर्वेदिक उपचार सेवा प्रभावकारी

बनियानी (झापा) । झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । 

उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिए । आव २०७८/७९ मा १७ हजार छ सय ६५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेका छन् । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ल्याब सेवा, फिजियो थेरापी, उपचारात्मक योग सेवा, जलौका (लिच थेरापी), पञ्चकर्म÷पूर्वकर्म लगायतका सेवा उपलब्ध छ । 

यहाँ ग्याष्ट्रिक, बाथ, उच्च रक्तचाप, मधुमेह, पायल्स, फिस्टुला, फिसर लगायतका बिरामी आउने गरेका छन् । चेकजाँच पछि उनीहरूलाई निःशुल्क औषधि उपलब्ध गराइन्छ ।

कविराज अर्याल केन्द्रमार्फत यहाँका विद्यालयमा आयुर्वेद तथा योग शिक्षासमेत प्रदान गर्ने गरिएको बताउनुहुन्छ । झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा हल्दिबारी र भद्रपुरका तीन सय ५८ स्तनपायी आमालाई मातृ शिशु सुरक्षार्थ जडीबुटीजन्य औषधि वितरण गरिएको थियो । 

आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रूपमा सेवा दिन नसकिएको कार्यालय प्रमुख डा यादवले बताउनुभयो । सात जनाको स्थायी दरबन्दी भए पनि तीन जनाको दरबन्दी रिक्त छ । 

हाल केन्द्रमा स्थायी र करारका गरी १३ कर्मचारीले सेवा दिइरहेका छन् । झापामा सरकारी स्तरमा आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एउटा तथा सात आयुर्वेद औषधालय छन् । रासस

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : २३ बजे