साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बुकीमै गोठालाको उपचार

ढोरपाटन (बागलुङ) ।  बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यति बेला गुर्जाघाटमा छन् । 

गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गम स्थल हो । यसलाई स्थानीयवासीले बुकीका रूपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशु चौपायाले भरिएको छ । 

तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशु चौपाया लिएर यहाँ पुगेका छन् । जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन् ।

करिब चार महिना लेकमै बस्ने गोठाला यस अवधिका लागि पुग्ने खर्चपर्च लिएर गएका हुन्छन् । खर्च सकिएपछि बेसी नै झर्नुपर्छ । गोठमा बस्ने, पशु चौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरूको दैनिकी हो । 

गाउँघर र स्वास्थ्य संस्थाबाट टाढा हुने हुँदा गोठाला बिरामी पर्दा पनि बेसी झर्दैनन् । उनीहरू यस अवधिमा जडीबुटी र धामी झाँक्रीको भरमा बस्छन् ।  बुकीमा एउटा पनि धारा छैन । गोठालाले पोखरी, रूखको टोड्का र खुला मूलको पानी प्रयोग गर्ने हुँदा समय–समयमा बिरामी पर्ने गर्छन् । बिरामी हुँदा कतिपयको गोठमै ज्यान जान्छ ।

तमानखोलाले गोठालालाई लक्षित गरी बुकीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बर्खाको समय विद्यालय बन्द हुने हुँदा बालबालिका पनि अभिभावकसँग बुकीमा जान्छन् । बुकीमा बालबालिका र वृद्ध वृद्धा सबै पुग्ने हुँदा उनीहरूका लागि शिविरमार्फत गोठमै स्वास्थ्य सेवाको व्यवस्था मिलाइको हो । 

गाउँपालिकाले तमानखोलाका मात्रै नभई गुर्जाघाटमा बस्दै आएका अन्य पालिका र जिल्लाका गोठालाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

“स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा बुकीमै उपचारको व्यवस्था मिलाएका हौँ”, उहाँले भन्नुभयो । तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ । अहिलेसम्म त्यहाँ सडक पुगेको छैन । बुकीभन्दा धेरैमाथि रहेका गोठालाले यस पटक सेवा लिन नपाएको अध्यक्ष बुढा मगरले बताउनुभयो । 

“गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो । 

स्वास्थ्य शिविरका लागि बुकी पुग्नुभएका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखाला लाग्ने, उच्च रक्तचापलगायत समस्या भएको बताउनुभयो । केहीलाई गम्भीर किसिमको रोग देखा परेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उहाँको भनाइ छ । 

अध्यक्ष बुढा मगरसहित १२ जनाको टोली बुकी पुगेर शिविर सञ्चालन गरेको थियो । उनीहरूले एक सय बढी गोठालाको स्वास्थ्य उपचार गरेका थिए ।रासस 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ८ : ५२ बजे