पूर्वाधार विकास बैंकको औचित्यबारे अध्ययन गर्नुपर्छ : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को औचित्य र प्रभावकारिताबारे अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो ।

उहाँले निफ्रामाथि प्रश्न उठाउँदै निफ्राको प्रगतिका विषयमा असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले नियमित रहेका वाणिज्य बैङ्कहरूले मात्रै पूर्वाधार क्षेत्रमा लगानी नपुग्ने भएकाले निफ्रा जस्ता बैंकहरु स्थापना गरिएको बताउनु भयो। उहाँले निफ्राको उद्योग क्षेत्रमा लगानी कति ग¥यो र लगानीको प्रभावले उद्योग क्षेत्रमा पारेको असरको विषयमा अध्ययन गर्न आवश्यक देखिएको बताउनु भयो।

मुख्यसचिव अर्यालले सरकार र निजी क्षेत्र दुई वटाकै लगानी आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बैङ्कको ब्याजदरको विषयमा धेरैको ध्यान गएको भन्दै राष्ट्र बैङ्कले स्प्रेड र पोलिसि रेट घटाएकाले बिस्तारै ब्याज घट्ने र सहज वातावरण सिर्जना हुने अवस्था देखिएको बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्र बिच नियमित छलफल गरी निजी क्षेत्रको वास्तविक समस्या यकिन गरी सरकारलाई प्रस्टसँग राख्न सक्नुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक क्षेत्रले मात्रै गरेर मुलुकमा औद्योगिक विकास हुन नसक्ने बताउनु भयो ।

उहाँले ३० वर्ष पहिले सरकारले स्वीकार गरेको विषय अहिले पनि केही फरक नआएको भन्दै औद्योगिक विकास गर्न निजी क्षेत्र पनि आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारको भूमिका सहयोगी वातावरण निर्माण गरी आवश्यक सेवा सुविधा र पूर्वाधार तयार पार्ने काम भएको बताउनु भयो। उहाँले २०४९ सालमा गरिएका औद्योगिक सुधारका ऐनहरु, औद्योगिक नीति र वाणिज्य नीतिमा सुधार गरेको बताउनु भयो । तर पनि पछिल्लो ३० वर्षमा सरकारले पनि औद्योगिक क्षेत्रको विकासमा गेमचेन्जिङ हिसाबले काम गर्न नसकेको बताउनु भयो ।

उहाँले सरकारले सिमेन्ट उद्योगलाई विद्युत र बाटो पु¥याइदिने भनेपछि निर्यात गर्ने अवस्थामा पुगेको भन्दै सरकारको सहयोग अपरिहार्य रहेको बताउनु भयो। उहाँले निजी क्षेत्रले सधैँ करको कारण औद्योगिक विकास गर्न नसकिएको भने पनि करको कारण मात्रै नभएको बताउनु भयो ।  

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  २ : ०३ बजे