अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका– ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची-हेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो । 

आज बिहानैदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको नगर प्रमुख आइतमान  तामाङले बताउनुभयो । तामाङले नगरपालिका अन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि तीव्रगतिमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 त्यस्तै हेलम्बु गाउँपालिकाले हिउँदको समयमा नदी नियन्त्रणका लागि गरिएका सबै प्रयास असफल भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । चनौटे, ग्याल्थुम र ढुङ्ग्रे बजारमा हालिएको ग्याबिन जालिसमेत बाढीले बगाएको उहाँको भनाइ छ । 

गाउँपालिकाको ढुङ्ग्रे बजारदेखि ग्यालथुम बजारसम्म र ग्याल्थुम बजारदेखि ग्याल्थुम पुलसम्म, चनौटेको बेलिब्रिजदेखि गणेश बगरसम्मको सडक अवरुद्ध भएको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो । तत्कालका लागि सडक सञ्चालनमा ल्याउन सक्ने स्थिति नरहेको उहाँको भनाइ छ । खोलाको अवस्था हेरेर बस्ती संरक्षण र सडक सञ्चालनका लागि आवश्यक पहल र प्रयास गर्ने उहाँले जानकारी दिनुभयो । 

यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिकोको वडा नं ८ खाल्डे गेट अगाडि उत्तिस घारीमा खोलाले कटान गरेका कारण पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै तिपेनी ‘ड्याम साइड’ अगाडिको पहिरो पन्छ्याइएको र अहिले सडक सञ्चालनमा आएको अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाले प्राकृतिक विपत्तिका कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै पालिकावासीमा धैर्य गरी सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

अध्यक्ष लामाले अवरुद्ध भएका सडक सञ्चालनका लागि निरन्तर लागि परेको बताउनुभयो । कतिपय स्थानमा अवरुद्ध भएका सडक सञ्चालनमा आएको उल्लेख गर्दै लामाले खाल्डे खोलास्थित उत्तिसघारीमा भने केही समय लाग्ने बताउनुभयो । 

उहाँले अतिआवश्यक काम परेमा मात्र घरबाट निस्कन र यात्रा गर्न आग्रह गर्दै तत्कालका लागि खाल्डे –लागर्चे तिपेनीको सडक वैकल्पिक रुपमा प्रयोग गर्न सुझाउनुभयो ।
 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १ : १५ बजे