अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

लमजुङ ।  बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ ।

बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।  

केहीदिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा पर्ने रामबजार, घोप्टे, च्याम्चे, रैदुखोलालगायतका स्थानमा अवरुद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो । खरखरेमा पानीसहित ठूलाठूला ढुङ्गासहितको पहिरो आएको र डोजरले खोतल्दा झन पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन । तर आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इञ्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । 

उहाँले पहिरोको जोखिम भने अझै रहेको बताउनुभयो । यस सडकमा दैनिक ३० देखि ४० वटा सवारी साधन आवतजावत हुने गरेका छन् । लमजुङ र मनाङ जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा बढी मर्का मनाङवासीलाई पर्दै आएका छन् ।
 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : १० बजे